खोटाङ । सनातन वैदिक धर्म, आध्यात्मिक चेतना र सामाजिक एकताको गहिरो सन्देश बोकेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हिङमाङ एकता समाज, खोटाङको आयोजनामा अत्यन्त श्रद्धा, भक्ति र भावुक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत साविक श्वाम्राङ–०६, कन्चने डाँडा, हिङमाङ टोलमा सम्पन्न महायज्ञले सम्पूर्ण क्षेत्रलाई धर्म, संस्कार र सामूहिक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। “धर्म, संस्कार र एकता—हाम्रो पहिचान” भन्ने भावनासहित आयोजना गरिएको उक्त महायज्ञले हिङमाङ परिवार मात्र होइन, समग्र समाजमा आध्यात्मिक ऊर्जा सञ्चार गरेको अनुभूति गरिएको छ।
महायज्ञ अन्तर्गत सङ्गीतमय श्रीमद् भागवत महापुराणको छैटौँ दिवस, शतचण्डी महारुद्राभिषेक, नित्य जप, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, चारपल्ट विशाल महाआरती तथा लाखौँ दीप प्रज्वलन जस्ता विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिएका थिए। दिनहुँ वैदिक मन्त्रोच्चारण, भजन–कीर्तन र कथा–प्रवचनले वातावरण भक्तिमय बन्दै जाँदा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति देखिन्थ्यो। कार्यक्रमस्थलमा उमेर, वर्ग र स्थानको भेद बिना सहभागीहरू भावुक हुँदै भक्ति भावमा डुबेको दृश्यले सबैको मन छोएको थियो।
यसै अवसरमा ॐकार धार्मिक सेवा समिति, कपन, काठमाडौंको सहकार्यमा गुरु गणेश पन्तज्यूमार्फत १७८ थान श्रीमद् भागवत
गीता निःशुल्क रूपमा वितरण गरिएको छ। “ज्ञान बाँडौँ, पुण्य कमाऔँ” अभियान अन्तर्गत गरिएको उक्त कार्यले धार्मिक ग्रन्थमार्फत जीवन दर्शन, नैतिकता र कर्मयोगको सन्देश जन–जनसम्म पुर्याउने विश्वास लिइएको छ। सहभागीहरूले गीता वितरणलाई केवल पुस्तक हस्तान्तरण मात्र नभई भावी पुस्तालाई संस्कार हस्तान्तरण गर्ने ऐतिहासिक कदमको रूपमा लिएका छन्।
बामराङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ, उपाध्यक्ष डोरनाथ हिङमाङ, सह–सचिव कुलबहादुर हिङमाङ तथा व्यवस्थापक सन्जय हिङमाङले महायज्ञ सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण आयोजक परिवार, दाताहरू, स्वयंसेवक, पुजारीवृन्द, अतिथि तथा श्रद्धालु भक्तजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उनिहरूले यस्तो धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सद्भाव, अनुशासन र आपसी सहकार्यको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
यस महायज्ञ आयोजना गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा कार्यालयबाट अनुमति लिइएको थियो। मिति २०८२।०८।०६ गतेको निर्णय अनुसार मिति २०८२।०८।२२ गतेदेखि २०८२।०८।२८ गतेसम्म सामूहिक रूपमा हिङमाङ परिवारद्वारा श्रीमद् भागवत महापुराण आयोजना गर्न अनुमति प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। कार्यवाहक अध्यक्ष रेखा रुम्टेलद्वारा जारी सूचनामा धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधि समाजका लागि सकारात्मक हुने उल्लेख गरिएको छ।
कार्यक्रम अवधिभर “सबैलाई राधेश्याम” भन्ने भावनात्मक उद्घोषले सहभागीहरूको मन छोएको थियो। लाखौँ दीप प्रज्वलनको दृश्यले अन्धकारमाथि उज्यालोको विजय र अज्ञानमाथि ज्ञानको सन्देश दिएको अनुभूति गराएको स्थानीयवासीहरूको भनाइ छ।
समग्रमा, हिमराङ एकता समाज खोटाङद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नरही सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक जागरणको अनुपम उदाहरण बनेको छ। यसले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा पुण्यकार्यलाई निरन्तरता दिन सबैलाई प्रेरित गर्ने अपेक्षा ग रिएको छ।










तपाइको प्रतिक्रिया दिनुहोस्