धनगढी । प्याब्सन कैलाली जिल्ला कार्य समितिद्वारा आयोजना गरिएको अन्तर–विद्यालय स्तरीय चैतन्य पाठशाला प्याब्सन कैलाली क्रिकेट कप–२०८२ भोलि (मंसिर २७ गते) देखि पुस १ गतेसम्म फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान, धनगढी–३ मा हुने भएको छ।
विद्यालयस्तरमै खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यसहित आयोजित यो प्रतियोगितामा कैलालीका स्थानीय तहका उत्कृष्ट निजी विद्यालयबाट ६ टोली सहभागी हुनेछन्।
“विद्यालयबाटै खेलकुदको विकास” भन्ने मूल नारासहित सुरु हुन लागेको कपले स्वास्थ्य, सकारात्मक ऊर्जा र सुदूरपश्चिमको क्रिकेट पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
पत्रकार सम्मेलनमार्फत आयोजकले यो कपलाई विद्यालयस्तरको उत्कृष्ट प्रतिस्पर्धाका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिएको छ।
प्रतियोगिताका विजेताले रु ६५ हजार १ सय ११ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उपविजेताले रु ३५ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।
यससँगै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु ७ हजार उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु ५ / ५ हजार , मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याचले रु १,हजार र आकर्षक ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिए।।
विद्यालयमा लुकेर रहेका क्रिकेट प्रतिभालाई बाहिर ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन आयोजक प्याब्सन कैलालीले स्थानीय निकाय, अभिभावक, विद्यालयहरू, खेलप्रेमी तथा सरोकारवालाहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी, टिकापुर, लम्कीचुहा नगरपालिका र जोशीपुर गाउँपालिकाको निजी विद्यालय मध्येको उत्कृष्ट एक-एक विद्यालयको सहभागिता रहेको छ।
साथै पत्रकार सम्मेलन मार्फत ट्रफी अनावरण र टाई सिट सार्वजनिक समेत गरिएको थियो।










तपाइको प्रतिक्रिया दिनुहोस्