धनगढी ।जोखिमयुक्त रुखको नाममा काँचो सालका रुख कटान गर्न थालिएको भन्दै धनगढी उपमहानगरपालिका–१४ स्थित जनकल्याण सामुदायिक वनका स्थानीय उपभोक्ताहरूले विरोध जनाएका छन्। समुदायको सहमति बिना नै दर्जनौँ काँचो सालका रुखमा छपान गरी कटान प्रक्रिया सुरु गरिएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।
स्थानीय उपभोक्ताहरूका अनुसार वास्तविक रूपमा जोखिमयुक्त स्थानमा रहेका रुखलाई छोडेर छानी–छानी काँचो सालका रुख काटेर वन सखाप पार्ने प्रयास गरिएको छ। उनीहरूले ठेकेदार र वन कार्यालयको मिलेमतोमा काँचो रुख कटान प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्।
धनगढी उपमहानगरपालिका–१४ को सिफारिस तथा डिभिजन वन कार्यालय कैलालीको पत्रका आधारमा सामुदायिक वनभित्र करिब ४७ वटा रुखमा छपान लगाई कटान प्रक्रिया सुरु गरिएको हो। यद्यपि, डिभिजन वन कार्यालय कैलालीले सब–डिभिजन वन कार्यालय फूलवारीलाई वन नियमावली २०७९ को नियम ३६ र ३७ बमोजिम रुख काट्न मिल्ने वा नमिल्ने विषयमा रायसहित छानबिन गरी लागत पेश गर्न निर्देशन दिएको थियो। तर सब–डिभिजन वन कार्यालय फूलवारीले रुखको लागत संकलन र छपान गर्ने कार्य गरे पनि आफ्नो राय भने डिभिजन वन कार्यालयमा पेश नगरेको जनाइएको छ।
सामुदायिक वनभित्र दर्जनौँ काँचो रुखमा छपान गरी उपभोक्तासँग छलफल नगरी कटान प्रक्रिया अघि बढाइएको भन्दै स्थानीय उपभोक्ता बलबहादुर कार्कीले वन विनाश गर्न खोजिएको आरोप लगाए। वास्तविक जोखिम भएका रुखमा छपान नगरी कम जोखिम भएका रुख काट्ने प्रयास गरिएकाले विरोध गर्नुपरेको उनको भनाइ छ।
यसैगरी, स्थानीय उपभोक्ता देवबहादुर पल्लीले विगतमा वन कार्यालयको टोलीसँग मिलेर समुदायले छपान लगाएका सुख्खा र ठाडा रुखको छपान मेटाएर पुनः नयाँ छपान लगाई वन कार्यालयले बेमानी गर्न खोजेको आरोप लगाए।
यता जनकल्याण सामुदायिक वनका अध्यक्ष मनिराज जोशीले सब–डिभिजन वन कार्यालय फूलवारीले जोखिम नभएका रुखमा समेत छपान लगाई बाटोको नाममा रुख सखाप पार्न खोजेको आरोप लगाए। सहकार्य बिना एकाएक छपान गरी कटान प्रक्रिया अघि बढाइएकाले आफूले समेत मिलेमतोको आरोप खेप्नुपरेको भन्दै अध्यक्ष जोशीले छपान गरी काट्न लागिएका रुखप्रति आपत्ति जनाएका छन्।स्थानीयको विरोधपछि सब–डिभिजन वन कार्यालय फूलवारीका प्रमुख कपिल रावलले जोखिमको नाममा छपान लगाइएका रुखको कटान तत्काल रोक्ने बताएका छन्।
स्थानीयले आर्थिक प्रलोभनमा नीति दुरुपयोग गरी राजस्व संकलन र ठेकेदारको फाइदाका लागि जोखिमयुक्त रुखको नाममा अन्धाधुन्ध रुख काट्नु अघि विस्तृत अध्ययन आवश्यक रहेको बताएका छन्। अध्ययन बिना रुख कटान गरिएमा “नेपालको वन हरियो धन” भन्ने नारा नारा मै सीमित हुने उनीहरूको चिन्ता छ।










तपाइको प्रतिक्रिया दिनुहोस्