धनगढी ।सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अबदेखि कार्यालयको काम सुरु हुनुअघि १५ मिनेट अनिवार्य ध्यान गर्ने व्यवस्था लागू गरेको छ। प्रदेश सचिव दिर्घनारायण कोइरालाको अध्यक्षतामा बसेको कर्मचारी बैठकले हरेक दिन ध्यान अभ्यासमार्फत सकारात्मक कार्य–संस्कृति विकास गर्ने उद्देश्य राखेर सो निर्णय गरेको हो।निर्णयअनुसार बुधबारदेखि कर्मचारीहरूले हाजिर लगाए लगत्तै १०ः०५ बजेबाट १०ः२० बजेसम्म ध्यान गर्न सुरू गरिएको छ। ध्यान अभ्यासले कर्मचारीमा आत्मविश्वास वृद्धि, आत्मअनुशासन, एकाग्रता तथा सकारात्मक स्वभाव विकास हुने विश्वास मन्त्रालयका प्रवक्ता तथा जीवन–विज्ञान योगध्यान प्रशिक्षक भरत कुमार श्रेष्ठले बताए।
उनका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा शान्त मनस्थिति, सहनशीलता र सेवाग्राहीका कुरा बुझ्ने क्षमता अत्यावश्यक भएकाले ध्यानलाई दैनन्दिन अभ्यासका रूपमा लागू गरिएको हो। “पहिले कर्मचारी आफैँभित्र शान्त र अनुशासित मानसिकता हुनुपर्छ, तब मात्र जनतालाई गुणस्तरीय सेवा दिन सकिन्छ,” श्रेष्ठले भने।मन्त्रालयका करिब ३५ जना कर्मचारीले प्रत्येक दिन सभाहलमा ध्यान गरेर मात्र नियमित कामकाजमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
यसले कार्यालयीन वातावरण अझ अनुशासित, व्यवस्थित र सेवा–केन्द्रित बन्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।नेपाल सरकारले पनि कार्यालयीन कामअघि कर्मचारीले ध्यान गरेर दिनचर्या सुरु गर्ने अवधारणा अघि सारेको स्मरण गराउँदै श्रेष्ठले मन्त्रालयले मातहतका अन्य कार्यालयहरूलाई समेत ध्यान अभ्यास सुरु गर्न अनुरोध गर्ने बताए।











तपाइको प्रतिक्रिया दिनुहोस्