बिचार/ब्लग
बीपी, संविधान र लोकतन्त्रको मजाक
गुरुराज घिमिरे
आज बीपी कोइरालालाई सम्झने दिन अर्थात् ४१औं बीपी स्मृति दिवस। ६ साउन २०३९ मा यस धराबाट उहाँको भौतिक अवसान भएको थियो। यस दिनमा कम्तीमा आम कांग्रेसजनले बीपीलाई स्मरण गरेर उहाँले देखाएको बाटो हिंड्ने संकल्प गर्ने र छाडेर गएको विरासत सम्हाल्दै नेपाललाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउन दिनरात काम गर्ने प्रतिज्ञा गर्नुपर्दछ।
त्यस सँगसँगै आजसम्म भएका कमीकमजोरी हटाउने र दोहोरिन नदिने प्रण वा बाचा गर्नुपर्दछ। मुलतः बीपीको कांग्रेसले स्थापना यताका झण्डै आठ दशक विधिको शासन स्थापना गर्न र कायम राख्न ठूल्ठूला लडाइँ लड्यो। हरेक लडाइँमा सफलता प्राप्त गर्यो।
जनताको स्वतन्त्रता र राजनीतिक अधिकार कहिले राणाले त कहिले राजाले खोसेका थिए। बीपी बाँचुञ्जेल उहाँको सिधा टक्कर राणापछि राजैसँग भयो। २००३ सालमा राजनीतिक दल खोल्ने तयारी गर्दा बीपी जम्मा ३२ वर्षको लक्का जवान र ल ग्र्याजुयट हुनुहुन्थ्यो। त्यस उमेरमा उहाँले भारतीय स्वतन्त्रता संग्राममा सक्रिय सहभागिता जनाएर साढे तीन वर्ष जेल जीवन बिताइसक्नु भएको थियो।
पिता कृष्णप्रसाद कोइरालाको राणाको जेलमै मृत्यु हुँदा उहाँ पनि भारतीय जेलमा हुनुहुन्थ्यो। जीवनको अन्तिम अवस्थामा बीपीले पितालाई भेट्न समेत पाउनुभएन। तथापि उहाँले भारतबाट अंग्रेज धपाएपछि मात्र नेपालबाट राणा शासन हटाउन सकिन्छ भन्ने निष्कर्षका साथ नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो।
त्यसयता उहाँले आफू बाँचुञ्जेल राष्ट्रियता र लोकतन्त्रको पैरवी एवं पहरेदारी गर्नुभयो। नेपाल र नेपालीको शिर झुक्न दिनुभएन। नेपाली जनताको सर्वोपरि हित र नयाँ पुस्ताको सुखद भविष्यको लागि निरन्तर संघर्ष गर्नुभयो। आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि समर्पण गर्नुभयो।
संभवत विश्वभर राजनीतिक संघर्षको दौरान जिन्दगीभर सर्वाधिक दुस्ख पाउने थोरै मात्र राजनेतामा बीपी पर्नुहुन्छ। चार वर्षको बालक हुँदा पछ्याएको दुःखले उहाँलाई जिन्दगीभर छाडेन। जेल, प्रवास, क्यान्सर जस्ता कहरले सधैंभरि मित्रता गाँसिरहे।
जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालको राजनीतिले त उहाँको सानिध्यता पाई नै रह्यो, सँगसँगै नेपाली साहित्य जगतले उहाँबाट विभिन्न विधाका दर्जनौं कृति पायो। नेपालको साहित्याकाशमा उहाँ चम्किलो नक्षत्र हो। उहाँ राजनीतिमा क्रान्तिकारी तथा प्रजातान्त्रिक समाजवादी र साहित्यमा अराजकतावादी हुनुहुन्थ्यो।
यी सबै कुरा हामीले अग्रजबाट सुनेका र पढेका विषय हुन्। हाम्रो पुस्ताले बीपी भेट्न पाएन। उहाँलाई भेट्न नपाए पनि नेपालको नयाँ पुस्ताको ठूलो हिस्सा उहाँलाई आदर्श मान्छ। बीपीका सहयात्रीहरू सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई समेतको उहाँ आदर्श हुनुहुन्थ्यो। कम्युनिस्ट पार्टीका नेताहरू मनमोहन अधिकारी, मदन भण्डारी, प्रचण्ड लगायत समेत उहाँलाई आफ्नो आदर्श बताएका छन्।
अब अलिकति फरक तर सान्दर्भिक प्रसंगको चर्चा गरौं। यस बीचमा नेपालका सात प्रदेशमध्ये कोशी प्रदेश अर्थात् प्रदेश नं। १ ९नाममा विवाद जारी रहेकोले० मा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि केही दिनअघि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको घोषणा भयो।
यही सरकार गठनको विषयलाई लिएर नेपाली राजनीतिमा विभिन्न टीका टिप्पणी सुरु भयो र यो जारी छ। मूलतः यसको संवैधानिकता र कार्यपालिकाको गठन प्रक्रियामा व्यवस्थापिका प्रमुखको संलग्नतालाई लिएर गम्भीर प्रश्नहरू उठे।
अहिले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा छ। सर्वोच्चले सरकारलाई महत्त्वपूर्ण कार्य नगर्न भनेको छ । साथै सरकार निर्माणका क्रममा अपनाइएको प्रक्रिया सम्बन्धी कागजात मगाएको छ। केही दिनभित्र अन्तिम फैसला आउने नै छ।
शक्ति पृथकीकरणको सिद्धान्तलाई राजनीति विज्ञानको महत्त्वपूर्ण सिद्धान्त मानिन्छ। यस सिद्धान्तका अनुसार संवैधानिक प्रबन्धद्वारा राज्यका प्रमुख अंगहरूमा शक्तिको विन्यास गरिन्छ। फ्रान्सेली विचारक मन्टेस्क्युलाई यस सिद्धान्तका आधिकारिक व्याख्याता तथा मूल विचारक मानिन्छ। त्यस्तै मेडिसिन अर्का सिद्धान्तकार हुन्।
मन्टेस्क्यु भन्छन्, ‘लोकतान्त्रिक शासन प्रणाली अन्तर्गत राज्यका तीन अंगहरू स्वतन्त्र रहनुपर्छ, एकले अर्काको क्षेत्रमा हस्तक्षेप वा प्रवेश गर्नु हुँदैन। तीनवटै अंगको शक्ति एक व्यक्तिमा निहित भयो भने निरंकुशताको उदय हुन्छ।’
शक्ति पृथकीकरणको सिद्धान्त अनुसार व्यवस्थापिकाले बनाएको कानुनलाई कार्यपालिकाले कार्यान्वयन गर्ने हो। कानुनको व्याख्या र पालना भए नभएको कुरा न्यायालयले हेर्ने हो। कानुनको पालना नगर्ने व्यक्ति वा संस्थालाई दण्डित गर्ने हो। यी तीनै अंगहरूले एक अर्काको क्षेत्राधिकारमा प्रवेश गर्नु हुँदैन।
स्पष्ट रूपले भन्दा कार्यपालिकाको गठनमा व्यवस्थापिका स्रोत र माध्यम मात्र हो। व्यवस्थापिकाले कानुन बनाउँदा कार्यपालिका सहजकर्ता मात्र हो। तत्पश्चात् मात्र न्यायपालिकाको काम आउँछ। उसले प्रचलित संविधानको पालना भए नभएको छुट्याउँछ।
यी तीनवटै अंगले स्वतन्त्रतापूर्वक कार्य गर्दछन्। एकअर्काको क्षेत्रमा प्रवेश गर्दैनन्। मेडिसिन भन्छन्,’तीन अंग स्वतन्त्र रूपमा चलेनन् वा भएनन् भने अत्याचारी शासनको उदय हुन्छ ।’
माथिको प्रसंग किन उद्धृत गरिएको हो भने भरखरै कोशी या १ नं। प्रदेशको सरकार परिवर्तनको प्रक्रियामा त्यहाँका सभामुखको संलग्नता उदेकलाग्दो र पूर्ण रूपमा असंवैधानिक देखिन्छ। उहाँले सभामुख रहेरै कार्यपालिका गठनको प्रक्रियामा आफूलाई सामेल गराउन कसरी सक्नु भो, थाहा छैन।
एउटा निर्वाचन क्षेत्र विशेषबाट निर्वाचित भएको व्यक्ति भएपनि उहाँको वर्तमान भूमिका प्रदेश सभाको सभामुख हो। सभामुख भनेको व्यवस्थापिका प्रमुख हो। उहाँले प्रदेश कानुन बनाउने कार्यको नेतृत्व गर्ने हो। मन्टेस्क्यूका अनुसार कार्यपालिका गठनको प्रक्रियामा सामेल हुने वा हस्ताक्षर गर्ने होइन। यसले संविधानको मूल भावनामाथि ठूलो प्रहार गरेको छ। साथै लोकतान्त्रिक राज्य र संसदीय शासन प्रणालीको संवैधानिक व्यवस्थाको धज्जी उडाएको छ।
प्रदेशसभाका सभामुखलाई कार्यपालिका गठनको प्रक्रियामा सरिक हुने रहर लागेको भए निर्विवाद बाटो थियो। उहाँले सभामुख पद छाड्न सक्नुहुन्थ्यो। व्यवस्थापिका प्रमुखको जिम्मेवारी त्यागेर प्रदेशसभा सदस्यको पदमा कायम रहेपछि कार्यपालिका गठनको प्रक्रियामा सामेल हुन मार्गप्रशस्त हुन्थ्यो। तर यसो भएन र नै अहिले सरकार गठनको विषय विवादित भएर अदालत पुगेको छ।
अब हामीले फैसला पर्खनुको विकल्प छैन। दुःखको कुरा के भने नेपालको इतिहासमा एउटा घटना अंकित भयो कि जिन्दगीभर विधिको शासनका निम्ति संघर्ष गरेको दल नेपाली कांग्रेस विधि तोडेर सरकार बनाउन कसरी सहमत भयोरु कांग्रेसका निम्ति सरकार भन्दा विधि ठूलो कुरा थियो। र, लोकतान्त्रिक शासन प्रणालीको मर्म पनि विधि नै हो। बीपी विचारको केन्द्रीय तत्व पनि यही नै हो।
बीपीको राजनीतिक ध्येय, संकल्प र लक्ष्य स्पष्ट थियो। उहाँसँग जीवनको कार्यसूचि थियो। उहाँलाई आफ्नो जन्मको तात्पर्य थाहा थियो। आम मान्छे जीवनको तात्पर्य थाहै नपाएर जिन्दगी बिताउँछ। एकप्रकारले उहाँको जीवन असामान्य थियो। त्यसैले हामी उहाँलाई महामानव समेत भन्छौं। यो अतिरञ्जित होइन।
एउटा व्यक्तिले आफ्नो छोटो जीवनमा यति धेरै काम गर्न संभव नै छैन जुन बीपीले गरेर देखाउनु भयो। जम्मा ६८ वर्ष बाँचेर भारतीय स्वतन्त्रता संग्राम, जेल (नेपाल र भारत), लेखन, वकालत, सरकार, प्रवास, त्यो पनि क्यान्सरग्रस्त भएर, अकल्पनीय यथार्थ हो।
अझ सरकारमा गएर छोटो समयमा देश विकासको विस्तृत गुरुयोजना तयार गर्नु चानचुने कुरा थिएन। यो औसत मान्छेको बुता बाहिरको कार्य हो। त्यस्ता असाधारण नेताको राजनीतिक दल नेपाली कांग्रेस यतिबेला कहाँ छरु र के गर्दैछरु हाम्रा सामु अनगिन्ती प्रश्न छन्, जसको समुचित उत्तर कसले दिने रु
हामीलाई त आफ्नो दुनो सोझिंदा पुग्ने भयो, जनता र देश कहाँ पुग्लारु आज बीपी स्मृति दिवस मनाउँदै गर्दा फगत सनातनी हुने कि केही संकल्प गर्ने रु समय बलशाली हुन्छ। यसले हाम्रो चिनारी छोडेर जान्छ। इतिहासको कठघरामा उभ्याउँछ। या त हामीले चित्तबुझ्दो उत्तर खोजी गरौं वा इतिहासको गर्तमा बिलाउन तयार हौं। जननायक बीपीप्रति भावपूर्ण श्रद्धाञ्जली ।
तपाइको प्रतिक्रिया दिनुहोस्