हामि संग जोडिनुहोस

समाचार

कार्यालय सहयोगीको भरमा चल्दै धनगढीका स्वास्थ्य केन्द्र, शाखा प्रमुख भन्छन् जनशक्ति अभाव भयो

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-४-६
  • सुन्नुहोस् 
3.55K  
Banner

धनगढी । धनगढी उपमहानगरपालिका १८ को आधारभुत स्वास्थ्य केन्द्रमा उपचारको लागि आएका बिरामीलाई कार्यालय सहयोगीले औषधी दिएर पठाइरहेकी छन् । स्वास्थ्य केन्द्रमा ५ जना स्वास्थ्यकर्मी रहेकोमा आज शुक्रबार कार्यालय सहयोगीको भरमा स्वास्थ्य केन्द्रले सेवा दिइरहेको छ । स्वास्थ्य केन्द्रकी ईन्र्चाज जानुका कार्की नियमित खोप लगाउन जाँदा कार्यालयको सम्पुर्ण जिम्मेवारी कार्यालय सहयोगीको थाप्लोमा आएको हो । 

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएकाले स्वास्थ्य केन्द्रका दुईजना कर्मचारी अनुपस्थीत हुँदा कार्यालय सहयोगीले औषधी दिनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ । 

धनगढी १८ ई गाउँका रमेश लिसानीले बच्चालाई खोकी लागेकाले जचाउँन स्वास्थ्य केन्द्रमा आएको बताए ।  उनले स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी बाहेक अन्य स्वास्थ्यकर्मी नभएको बताए । उनले भने, यता भएका एकजना स्वास्थ्यकर्मी बच्चालाई खोप लगाउन ई गाउँ गएका रहेछन्, बांकी स्वास्थ्यकर्मी पनि रहेनछन् । स्वास्थ्य केन्द्र भएपछि कम्तीमा २/३ जना स्वास्थ्यकर्मी यहां भइराख्नु पर्ने हो तर कार्यालय सहायोगी मात्र भएकाले उपचार नगरी फर्किनु पर्ने अवस्था आएको उनको भनाई छ ।  धनीहरुले विभिन्न ठाउँमा गएर उपचार गराउँछन् तर हामी जस्ता गरिब कता जाने, कसरी उपचार गर्ने भन्दै उनले प्रश्न गरे । 

धनगढी उपमहानगरपालिका १९ स्थीत फूलवारी स्वास्थ्य चौकीमा समायोजन तथा समायोजन मिलान भई आएका  ५ जना कर्मचारीले साउन १ गते देखि हाजिर गर्न नपाउँदा स्वास्थ्य चौकी ३ जना करारका कर्मचारीको भरमा चलिरहेको निमित्त ईन्र्चाज रबिन्द्र धानुकले बताए । 

उनले दरबन्दि अनुुसार स्वास्थ्यकर्मी नहुदां नियमित खोप सेवा, प्रसुति सेवा र परिवार नियोजन सेवा प्रभावित भएको बताए । फूलवारी स्वास्थ्य चौकीमा ५ बर्षमुनिका बालबालिकालाई नियमित ५ र ६ गते लगाउनु पर्ने खोप जनशक्ति अभावले ८ र ९ गते लगाइने भएको छ । एक जना कर्मचारीले २४ घण्टा प्रसुतीसेवा दिनुपर्ने अवस्था रहेको भन्दै धानुकले ३ जना कर्मचारीको भरमा स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिन नसक्ने बताए । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन् । सोही कारण धनगढीमा जनशक्ति अभावहुदां खोप कार्यक्रम,ओपिडि सेवा,प्रसुती सेवा, परिवार नियोजन सेवाहरु प्रभावित भएका छन् । 

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमूख योगेश अवस्थीले  उपमहानगरले खोपलाई मूख्य प्राथमीकतामा राखेकाले उपलब्ध कर्मचारीलाई खोप कार्यक्रममा खटाइएको जानकारी दिए । उनले कर्मचारी खोप केन्द्रमा जाँदा कतिपय स्वास्थ्य केन्द्रहरु कार्यालय सहयोगीको भरमा खोल्नुपरेको बताए । अवस्थी भन्छन्, हाम्रो लागि अन्य सेवा भन्दा खोप महत्तवपूर्ण छ त्यसैले कतिपय स्वास्थ्य केन्द्रमा अन्य सेवा दिन सकिएन ।

 उपमहानगरपालिकामा स्वास्थ्य कर्मचारी अभावले ५र६ गते लगाइनुपर्ने खोप  २,३, १७ र १९ वडामा ८ र ९ गते लगाइने गरी समय परिवर्तन गरिएको अवस्थीले जानकारी दिए । बालबालिकालाई नियमित खोप ५ र ६ गते नै दिनु पर्ने भएपनि जनशक्तिको कमीले केही दिन ढिला गरी खोप लगाउनु पर्ने बाध्यता भएको उनको भनाई छ ।

समायोजन तथा समायोजन मिलान भई आएका ३३ जना कर्मचारीलाई हाजिर नगराउँदा धनगढीमा जनशक्ति अभाव भएको शाखा अधिकृत अवस्थीले स्विकारे । 

तपाइको प्रतिक्रिया दिनुहोस्