अत्तरिया । महिला शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नम्बर १३२५ र १८२० को प्रभावकारी कार्यान्वयन लक्ष्यसहित संक्रमणकालीन न्यायको वर्तमान अवस्था तथा चुनौतीबारे गोदावरीमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। बुधबार अत्तरियामा आयोजित उक्त कार्यक्रम मानव अधिकारका लागि महिला – एकल महिला समूह सुदूरपश्चिम प्रदेश, धनगढी द्वारा आयोजित तथा KURVE Wustrow को सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख उद्देश्य संक्रमणकालीन न्याय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता, सुरक्षा संरचनामा लैङ्गिक समावेशिता र महिला अधिकारका मुद्दालाई शान्ति–प्रक्रियासँग जोडेर दीगो समाधानतर्फ अघि बढाउने रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला समन्वय समिति अध्यक्ष टीका कुमारी चौधरीले समाजमा बढ्दै गरेका विविध चुनौती, लैङ्गिक हिंसा, आर्थिक तथा सामाजिक बहिष्करणजस्ता मुद्दामा राज्य संयन्त्रले अझ जिम्मेवारीपूर्वक हस्तक्षेप गर्नुपर्ने धारणा राखिन्। उनले महिलाको सुरक्षा, न्यायमा पहुँच तथा शान्ति प्रक्रियामा सहभागितालाई संस्थागत गर्दै स्थानीय तहले समेत ठोस भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन्।
त्यसैगरी अधिवक्ता पुस्प विक्रम शाहीले “संक्रमणकालीन न्यायको वर्तमान अवस्था र चुनौती” विषयमा विस्तृत प्रस्तुतिकरण दिँदै सत्य निरूपण, क्षतिपूर्ति, पुनर्स्थापना र न्यायिक सुधारमा आधारित समग्र प्रक्रियालाई सुदृढ गर्न सुझाव प्रस्तुत गरे। उनले समुदायमा भइरहेका संवेदनशील घटनामा कानून कार्यान्वयन निकायको भूमिका अझ सुदृढ हुनुपर्ने र पीडितमैत्री प्रणाली निर्माण आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा उप–प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, महिला अधिकारकर्मी तथा फाया नेपाल अध्यक्ष गोमा आचार्य, कार्यक्रम संयोजक वेद अवस्थी, युवा मुक्त कमैया प्रतिनिधि, गोदावरी नगरपालिका शाखा प्रमुखसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एकल महिला समूह कैलालीले विगत १७ वर्षदेखि महिलाको अधिकार, न्यायमा पहुँच तथा एकल महिलाका मुद्दामा निरन्तर वकालत गर्दै आएको उल्लेख गर्दै महिला शान्ति तथा सुरक्षासम्बन्धी राष्ट्रिय कार्ययोजनालाई स्थानीय तहमा प्रभावकारी बनाउन सबै उप–समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता अनिवार्य रहेको धारणा राख्यो।
संस्थाका जिल्ला अध्यक्ष बदिय भगवत भगवती हमालले सबैको सहयोग र सहभागिताले महिला अधिकार र शान्ति सुरक्षाको अभियान अझ मजबुत बन्दै गएको बताउँदै कार्यक्रम समापन गरे।










तपाइको प्रतिक्रिया दिनुहोस्