हामि संग जोडिनुहोस

समाचार

फूलवारी बहुमुखी क्याम्पसका निमित्त प्रमुखले फरक शिर्षकमा बजेट खर्च गर्दा बिवाद

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-६-६
  • सुन्नुहोस् 
2.2K  
Banner

धनगढी । बारम्बार एकपछि अर्को बिवाद र काण्ड भइरहने कैलाली जिल्लाको धनगढी १८ स्थित फूलवारी बहुमुखी क्याम्पसमा फेरी नयाँ काण्डले बिवाद उत्पन्न भएको छ । तत्कालीन निमित्त क्याम्पस प्रमुख रुद्र काफ्लेले बजेटको शीर्षक परिवर्तन गरि फरक शिर्षकमा खर्च गर्दा बिवाद उत्पन्न भएको बताइएको छ ।

लामो समयदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका यम पौडेलको कार्यकाल सकिएपछि क्याम्पस व्यवस्थापन समितिले अस्थायी नियुक्तिमा काम गर्दै आएका रुद्र प्रसाद काफ्लेलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो । काफ्ले निमित्त क्याम्पस प्रमुख भएर छ महिना काम गरेका थिए । क्याम्पस व्यवस्थापन समितिको २०८० भदौ ५ गतेको बैठकले क्याम्पसका पूर्णकालीन स्थायी उपप्रध्यापक बम बहादुर बमलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गर्यो । सोही बैठकको निर्णयमा तत्कालीन निमित्त क्याम्पस प्रमुख रुद्र काफ्लेलाई १५ दिनभित्र आफुले गरेको सम्पुर्ण कारोबार मिलाई बरबुझारत गर्न भनिएको थियो । भने बम बहादुर बमलाई १५ दिन पछिमात्र क्याम्पस प्रमुखमा पदबहाली गराउने भनिएको थियो । 

तर निमित्त प्रमुख काफ्लेले बरबुझारत गर्न दिइएको समयमा उल्टै क्याम्पसको खातामा रहेको विभिन्न शीर्षकको रकम शीर्षक परिवर्तन गरि खर्च गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले बताए । काफ्लेले सामाग्री खरिद र भवन निर्माणको लागि आएको रकम तलब भत्ता र अन्य शिर्षकमा खर्च गरेको क्याम्पसले बताएको छ ।  व्यवस्थापन समिति र क्याम्पस प्रमुखको जिम्मेवारी पाएका बमसँग सल्लाह नगरी बरबुझारत गर्न दिइएको समयमा एकलौटी ढंगले काफ्लेले क्याम्पसको खाता रित्तो पारी तलब वितरण र अन्य खर्च व्यवस्थापन गरेको बताइएको छ ।

क्याम्पस व्यवस्थापन समितिको मिति २०८० भदौ २० गते बसेको बैठकले क्याम्पसको खातामा रहेको रकम पदको दुरुपयोग गरि अन्य शिर्षकमा खर्च गरेकाले दुरुपयोग भएको सम्पुर्ण रकम एक हप्ता भित्र क्याम्पसको खातामा जम्मा गरि बरबुझारत गर्न निमित्त प्रमुख काफ्लेलाई पत्राचार गरेको थियो । पत्रमा तोकिएको समय सीमाभित्र यथार्थ विवरण पेश गरि बरबुझारत नगरेको खण्डमा कानुनी कार्वाहीको दायरामा जाने चेतावनी समेत दिइएको थियो ।

तर तोकिएको समय बितिसक्दा समेत काफ्लेले दुरुपयोग भएको रकम क्याम्पसको खातामा नबुझाएको र बरबुझारत समेत नगरेको क्याम्पस प्रशासनको भनाई छ ।

भवन निर्माणको लागि आएको रकम र सामाग्री खरीदको लागि आएको रकम खर्च गर्दा क्याम्पसलाई अप्ठ्यारो परेको क्याम्पस व्यवस्थापन समितिको भनाई छ । काफ्लेले आफुलाई अधिकार नभएको काममा हात हालेर क्याम्पसलाई अप्ठ्यारो पारेको र तोकिएको समय भित्र दुरुपयोग भएको रकम फिर्ता नगरेकाले कानुनी प्रक्रियामा गएर काफ्लेलाई कारबाहीको दायरामा ल्याइने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले बताए ।

विगतमा पनि बजेट शीर्षक परिवर्तन गर्दै तलब खुवाउने गरेकाले स्रोत भर्ना गर्ने गरि तलब खुवाएको तत्कालीन निमित्त प्रमुख काफ्लेले बताए । उनले भने,मैले रकम दुरुपयोग वा भ्रष्टाचार गरेको होइन फरक शिर्षकमा क्याम्पसको खातामा जम्मा भएको रकमलाई तलब भत्तामा खर्च गरेको हो । पछि विद्यार्थी भर्नाबाट स्रोत भर्ना गरि फागुनसम्म मिलाउन सकिन्छ ।

No description available.


 


 

तपाइको प्रतिक्रिया दिनुहोस्