धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना रहेकोले लगानीकर्तालाई ढुक्कका साथ लगानी गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन् । बुधबार सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’मा परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम लगानीका लागि अथाह सम्भावना रहेकोले ढुक्कका साथ लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेकी हुन् ।
सुदूरपश्चिममा लगानीका लागि हाइड्रोपावर, पर्यटन, कृषिलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्,‘सुदूरपश्चिम आफैमा सुन्दर छ, यस क्षेत्रका जनताहरु पनि इमान्दार र विकास प्रेमी छन् । लगानीको प्रतिफल सहजै पाउन सकिन्छ । तसर्थ लगानीकर्तालाई सुदूरपश्चिममा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।’ विकाससँगै शान्ति अनिवार्य हुने भएकाले शान्तिका लागि राजनीतिक प्रतिवद्धता जरुरी रहेको बताउँदै उनले भनिन,‘देशमा शान्तिविनाको विकास कल्पना गर्न सकिँदैन, तसर्थ नेपालमा फरक वैचारिक धारका राजनीतिक दलहरु शान्ति र राजनीतिक स्थिरताका लागि एकै ठाउँमा उभिएका छौँ ।’ पछिल्लो समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारका कारण देशमा शान्ति र राजनीतिक स्थिरता कायम भएको र जसका कारण लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको उनले बताइन् । परराष्ट्रमन्त्री राणाले पछिल्लो समयमा पहाडी जिल्लाहरुमा विकासले गति लिए पनि बढ्दो बसाइँ सराइँका कारण बस्तीहरु खाली हुन थालेको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘पहाडी जिल्लामा एकीकृत बस्ती विकासको खाँचो छ, जसका कारण पहाडलाई सुन्दर र व्यवस्थित बनाउन सकिन्छ ।’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको बारेमा प्रकाश पार्र्दै लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमको विकासका लागि कोशे ढुंगा सावित हुने बताए । स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुदूरपश्चिममा भिœयाउन सम्मेलनको आयोजना गरेको बताउँदै सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ताहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । तयारी सम्मेलनमा नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम विकासका सम्भावनाले भरिभराउ भएको बताए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्भावनाका कुरा मात्रै नगरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘सुदूरपश्चिममा सम्भावना छ, तर पर्याप्त लगानी गर्न नसक्दा कयौं युवाहरु बेरोजगार बस्नु परेको छ,’ उनले भने,‘तसर्थ यस क्षेत्रमा पर्याप्त मात्रामा उद्योगमा लगानीको खाँचो छ ।’ कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरु, कूटनीतिक नियोगका उच्च पदस्थ व्यक्तिहरु, अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा लगानी सम्मेलनको आयोजना गर्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्