धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा रहेको सहिद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र सञ्चालनको विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गरेका छन्। प्रतिनिधि सभाबाट स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित भएसँग बजेट र सञ्चालनको माग बढेको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले शनिवार बिहान राष्ट्रिय सभाका सदस्यहरू र सङ्घर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेका हुन्। शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट विनियोजन गर्ने सम्बन्धमा छलफल गरेका उनको सचिवालयले बताएको छ।
प्रतिनिधि सभाबाट विश्वविद्यालय सञ्चालन विधेयक पारित भएकोमा खुसी व्यक्त गरेका शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, धनगढीमा उनीहरूसँग छलफल गरेका हुन्। मुख्यमन्त्री शाहले उक्त विश्वविद्यालय विधेयक पारित हुनु प्रदेशको उच्च शिक्षा क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्। उनले अब विधेयक अनुसार विश्वविद्यालय सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण बजेट विनियोजन गर्नुपर्ने विषयमा राष्ट्रिय सभा सदस्यहरूको ध्यानाकर्षण गराएका छन्।
विश्वविद्यालयको शीघ्र सञ्चालनका लागि सबै पक्षबिच समन्वय र सहकार्यको आवश्यकता रहेको मुख्यमन्त्री शाहले बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्