काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ।
मंगलबार एलन मस्क प्रमुख रहेका अमेरिकाको सरकारी दक्षता विभाग(DOGE)ले एमसीसी परियोजनामा कार्यरत कर्मचारीहरूलाई इमेल पठाएर परियोजना बन्द हुने जानकारी दिएको हो।
सरकारी दक्षता विभागका अनुसार चाँडै नै एमसीसीका कार्यक्रमहरूमा ठूलो कटौती हुने र यसको परिणामस्वरूप त्यहाँका कर्मचारी संख्या पनि धेरै कटौती हुने छ।
सन् २००४ मा जर्ज डब्लु. बुश प्रशासनको समयमा एमसीसी स्थापना गरिएको थियो। यसलाई सहायता पारदर्शिता समूह 'पब्लिस ह्वाट यु फाउन्ड'द्वारा संसारकै सबैभन्दा पारदर्शी द्विपक्षीय एजेन्सीको रूपमा मूल्याङ्कन गरिएको थियो।
एमसीसीले हाल नेपालसहित २० ओटा न्यून आय भएका देशहरूमा ५.४ अर्ब डलरभन्दा बढी अनुदानहरू सञ्चालनमा ल्याएको छ। DOGE को यो कदमलाई ट्रम्प प्रशासनद्वारा विदेशी सहायता समूहहरूप्रति लिइएको कठोर नीतिको निरन्तरताका रूपमा हेरिएको छ। आगामी ९० दिनभित्र एमसीसीका सबै परियोजना बन्द हुनसक्ने जनाइएको छ।
एमसीसी परियोजनामा झन्डै ३२० जना कर्मचारी कार्यरत छन्। त्यहाँका धेरै कर्मचारीहरु पनि कटौती गरिने जनाइएको छ। कर्मचारीलाई स्वैच्छिक अवकास लिन अप्रिल २९ सम्म इमेल गर्न निर्देशन दिइएको छ।एलन मस्कले मंगलबार टेस्लाको खराब त्रैमासिक आम्दानीको रिपोर्ट आएकोले उनी छिट्टै DOGE बाट बाहिरिने तयारीमा रहेको बताएका थिए। तर यो निर्णयले मस्क पछि हटे पनि DOGE ले सरकारी एजेन्सीहरूको विघटन नरोकिने संकेत देखिएको।
एमसीसीले सक्रिय अनुदान भएका नेपाल लगायत केही देशहरूका लागि छुट दिन अनुरोध गरेको एमसीसी परियोजनाको कर्मचारीले जनाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्