बिचार/ब्लग
स्कुलहरू किन कमजोर र असफल बन्दैछन् ?
जन्मसँगै जीवन आइसक्यो । सफलताको कुनै न कुनै पिरामिड बनाएर त्यसको टुप्पामा पुग्नुछ, तर यी दुई खाडलको बीचमा पुल लगाउने काम शिक्षा, सीप र गुणहरूले गर्दछ । अनेक विकल्पहरूको जञ्जालमा त्यो कुन पिरामिड चैं आफ्नो सही पिरामिड होला रु आफू अनुकूल सही चिन्न सक्नु र त्यसैमा केन्द्रित हुन सक्नु अर्को महान् सकस छँदैछ ।
त्यो सही पिरामिड चिन्नु आफैंलाई चिन्नु हो । आफ्नो सही काम र साथी चिन्नु हो । जीवनभर नाम र दाम कमाउने सही साधन जुटाउनु हो । जीवनयात्रामा सही गन्तव्यतर्फ लम्कनु हो । एक सार्थक जीवन बाँच्नु हो । जीवनयात्रामा समय बितेको पत्तै नपाई समय बिताउनु हो । हातको काममा मस्त रमाउनु हो । सबैभन्दा प्यारो काममा तन, मन, र धन सुम्पिनु हो । समग्रमा, आफैंलाई चिन्नु एक प्रकारले धनी र सुखी बन्नु हो ।
हामी सबै बा–आमा आफू पनि धनी र सुखी बन्न चाहन्छौं अनि आफ्ना सन्तानहरूलार्ई पनि त्यस्तै बनाउन चाहन्छौं । तर कसरी रु यसमा स्कुलघरको भूमिका कति रु घरस्कुलको भूमिका कति रु बाआमाको भूमिका कति रु शिक्षकहरूको भूमिका कति रु वरिपरिको समाज र समग्र देशको वातावरणको भूमिका कति रु हामी यी सबै भूमिकामा किन झन् भन्दा झन् कमजोर र असफल बन्दैछौं त रु यो आलेखको मूल विषय यही छ ।
१) पहिलो शिक्षक बा, आमा र घर
संसारको सबैभन्दा महान् शिक्षक बा–आमा नै हुन् र सबैभन्दा महान् विद्यालय घर नै हो । यसमा कुनै द्विविधा नै छैन । घरलाई महान् विद्यालय बनाउन र आफू महान् गुरु हुन कुनै डिग्री चाहिंदैन । हरेक विषय जान्नु र सिकाउन सक्नु पनि पर्दैन । घरको र बाआमाको पाठ्यक्रम भनेको नै सही संस्कार, विचार, आत्मविश्वास, सकारात्मक भावनाको विकास गर्नु मात्र हो ।
यो काम घरस्कुलले गर्न सकेन भने अब स्कुलघरको जग त्यसै कमजोर बन्दै जान्छ । आजका हरेक बा–आमा यो काम गर्न अक्षम बन्दै गइरहेका छन् । समयको बाध्यताले वा अज्ञानताले वा जानेर पनि गर्न नसकेर वा निरन्तरता दिन नसकेर । यो घरमा गर्न नसक्नु, घर कमजोर बन्नु हो, छोराछोरी कमजोर बन्नु हो, स्कुल कमजोर बन्नु हो, शिक्षक कमजोर बन्नु हो, समाज कमजोर बन्नु हो र समग्रमा देश कमजोर बन्नु हो । शिक्षाविद् गिजुभाईले त्यसै भनेका होइनन् कि घरमा बिग्रेको बच्चालार्ई भगवानले पनि सुधार्न सक्दैनन् ।
आजको समय र सुख–सुविधाका अनेक साधनहरूको सहज उपलब्धता, अनेक विकल्पको जञ्जाल, वरिपरिका मानिसहरूसँगको तुलना गर्ने आदत, जति कमाए पनि नपुग्ने र जति खर्च गरे पनि नअघाउने प्रवृत्ति, नयाँ नयाँ वस्तुहरूको निरन्तर उत्पादन र विज्ञापन, इन्टरनेट र सञ्चारको सहजताले मारेको सिर्जनशीलता आदिका कारणले हरेक बा–आमा व्यस्त र बाध्य बन्दै गएका छन् । सन्तानहरूसँगको दूरी बढ्दै गएको छ । न विचारको आदानप्रदान प्रशस्त छ, न भावनाको साटासाट । पुस्तैनी खाल्डो झन् भन्दा झन् फराकिलो बन्दैछ ।
सबैभन्दा खतरनाक त भावनाको डोरी चुँडिइसकेको छ । बा–आमाको मिहिनेत, परिश्रम, पसिना सन्तानले बुझ्नै छोडिसके । बा–आमामा अलिअलि बचेको भावना पनि समयको चाप र तापले सुकाइसक्यो । सन्तानका लागि बा–आमा पैसा कमाउने मेसिन मात्रै बन्दै गए । धेरै कमाउने होडले र बाध्यताले परिवार विस्तारै विखण्डित हुँदै गएको छ ।
बा एकातिर, आमा अर्कातिर अनि सन्तान अर्कैतिर । अब, घर कसरी घर बन्न सक्ला र रु अनि सन्तान सही र असल सन्तान कसरी हुन सक्लान् र रु अनि बा–आमा कसरी सफल बा–आमा बन्न सक्लान् र रु अनि यसरी घरमै र मूलमै बिग्रिइसकेको विद्यार्थीलाई आजका स्कुल अनि आजका शिक्षकहरूले कसरी सपार्न सक्छन् रु यस्ता जीवनहरू साँच्चै नै बनाउँछु भनेर कुन स्कुलले काम गर्न सक्ला रु कुन शिक्षकहरूमा यो भावना भरिएर कक्षाकोठामा पसेका होलान् रु प्रश्न कोमल छ र कठोर पनि ।
त्यसैले त अब सबै स्कुलहरू कमजोर र असफल बन्दै गइरहेका छन् । निष्कर्षमा भन्न सकिन्छ, घर कमजोर त भर कमजोर ।
२) पत्रु दुई चिजको बढ्दो प्रभाव
आजको समस्या दुई पत्रु चिजहरूको हो । पत्रु खाना, अनि विद्युतीय पत्रु । दुवै चिजहरूको हरेक घरमा हैकम । जता निस्कियो, त्यतै प्याकेटका पत्रु खानेकुरा झुण्डिएका हुन्छन् । त्यसमा बालबालिकाको ध्यान त्यसै जाने नै भयो । त्यसको स्वादमा जिब्रोको बानी परेपछि, घरमा बनाएको जस्तै उत्तम खानाको पनि स्वाद नआउने । एक दिन, दुई दिन अनि हर दिन ।
भएभरका प्याकेटका पत्रु चिजहरू हाम्रो अर्बौं पर्ने इन्जिनमा हालेपछि के होला रु विस्तारै पेट डस्टबिनमा परिणत हुन्छ । दुई लाखको मोटरसाइकलमा तेल हाल्दा पनि दश चोटि शुद्धता सोच्ने हामी अर्ब खर्बको शरीररूपी इन्जिनमा केही नसोची जे पनि घुसाइहाल्छौं । तब, नतिजा के होला रु
ब्रेनमा जत्तिकै न्युरोन्सहरू भएको दोस्रो ब्रेन हो, पेट । त्यो कमजोर बन्दै गएपछि दिमाग पनि स्वतः कमजोर बन्दै जान्छ नै । अनि स्कुलले के गरोस् रु शिक्षकहरूले के गरुन् रु पत्रु खानाले विद्यार्थीको पेट कमजोर त अरू सबै कमजोर । घरस्कुल कमजोर अनि स्कुलघर कमजोर ।
आजको युगमा, मोबाइल, समयको वरदान हो । यो अर्को एक भगवान नै हो । तर योे अभिशाप पनि बन्दैछ । सही प्रयोग गर्न नजानेर अनि नसकेर । पत्रु सूचनाहरूको जञ्जालमा त्यसै अल्झिएर, समय खेर फालेर । अनेक पत्रुहरूको बीचबाट सही चिज छान्न नसकेर अनि त्यसमै रुमलिएर समय नष्ट गरेर ।
यो विद्युतीय पत्रु साधनहरू हामीलार्ई नभई नहुने तर भएर पनि सपार्ने भन्दा बढी बिगार्ने छन् । कुनै समयमा टीभी थियो, आज आएर मोबाइल भएको छ । त्यसमा जे आउँछ, दिमागमा सिधै घुसाउँछ । हामीले उसलार्ई चलाउनुपर्ने तर त्यसले हामीलाई बढी चलाउन थालेको छ । प्रक्रिया उल्टो भएको छ ।
त्यसमा पनि हाम्रा बालबालिका मात्र होइन, वयस्क र बा–आमा नै त्यसको लतमा नराम्ररी फँसिसकेका छन् । घरको वरिपरिको वातावरण जस्तो छ, सन्तान त्यस्तै बन्ने न हुन् । वरिपरिको वातावरणमा बालबालिकाले जे देख्छन्, त्यसैको सिको गर्ने न हुन् ।
अग्रजहरूले किताब समातेको देखे पो, त्यही सिक्छन्, मोबाइलका पत्रु चिजमा रमाएको अनि मुस्कुराएको देखेपछि, उनीहरू पनि त्यस्तै खोज्छन् । अर्को मूल समस्याको चुरो यही हो । घर र स्कुल दुवै कमजोर बनाउनेको अनि सबैलाई पत्रु बनाउनेको ।
निकै घरहरू भित्र पसेर हेर्दा यो सबै प्रमाणित भयो । कुनै पनि घरको बैठक कोठामा, न कुनै पुस्तकको र्याक भित्तामा छ, न कुनै गतिलो पुस्तक टेबलमा । अनि घरमा कताबाट सही बानीको विकास हुन्छ रु कसरी सही वातावरण बन्छ रु अलिकति फुर्सद भयो भने बा–आमाको हातमा कि त्यही मोबाइल हुन्छ कि टिभीको रिमोट । दिनरात सन्तानले त्यै मात्र देखेपछि के होला रु के सिक्लान् रु
कुनै घरको भित्तामा लाखौं पर्ने टीभी हुन्छ । सोफाको दाम सोध्नै पर्दैन । नयाँ डिजाइनको अनि आधुनिक र उन्नतस्तरको । कार्पेट पनि त्यस्तै सुहाउँदो । पर्दा र फर्निचरहरू पनि जोडी मिल्ने । चिटिक्क परेका भित्ते दराजहरू अनि त्यसमा सजाएर राखेका लाखौं पर्ने सजावटका सामग्रीहरू । यसो नियाल्दा लाग्छ कि यो कुनै सानो म्युजियम नै हो । अलि पारखीहरूको घरमा अर्को कुनामा एक रक्सीको बार पनि रहेको हुन्छ ।
अनुमान लगाउँदा त्यहाँ पाँच दश लाखका विभिन्न प्रकारका रक्सीहरूको प्रकार प्रदर्शनमा रहेको सहजै लख काट्न सकिन्छ । घरमा गफ लाखका हैन, करोडका मात्र गरिन्छन् । बालबालिकाहरू ती सबै कुरा जहिल्यै देखिरहन्छन् र सुनिरहन्छन् । के सिक्छन् रु के बुझ्छन् रु बा एक कुनामा मोबाइलमा मस्त । आमाको अवस्था त्यस्तै । अनि बालबालिका पनि आ–आफ्ना पत्रु भगवानहरूसित मस्त । कता होमवर्क रु कता ज्ञान, गुण, सीप र संस्कार रु कता अध्ययन, खोज, चिन्तन रु कता मानवता, दया, प्रेम, धर्म रु कता संस्कृति, कता प्रकृति, कता सिर्जना र प्रविधि, कता समाज अनि कता देश रु
अर्को घरको हाल अर्कै छ । बा–आमाको एक मम र चाउमिनको होटल छ । होटल सँगैको एक कोठा छ । होटलमा बिहानैदेखि अनेक प्रकारका मानिसहरूको आउने–जाने चल्छ । तिनीहरू अनेक प्रकारका बोलीवचन, सोच र आदत बोकेका हुन्छन् । आउँछन्, बस्छन्, खान्छन्, बोल्छन् अनि जान्छन् । टाँसिएको कोठामा बसेर गृहकार्य गरिरहेका केटाकेटीहरू ती सबै राम्रा–नराम्रा कुरा सुन्छन् र सिक्छन् । राम्रा थोरै सुन्छन् र बिर्सन्छन् तर नराम्रा दश कुरा कलिलो दिमागमा बोक्छन् र बोकिरहन्छन् । बा–आमाको बाध्यता, आफ्नो र सन्तानको मुखमा माड हाल्नुहुन्छ । कताको संस्कार रु कताको सीप र सही गुण ? कताको सही अभिभावकत्व ?
तिनै बालबालिका पढ्ने स्कुलहरू बाख्राको खोर जस्ता हुन्छन् । त्यहाँका शिक्षकहरू कि समय बिताउन आएका छन् कि राजनैतिक भर्याङ टेक्न, त कोही मात्र व्यापार चलाउन, द्रव्य फलाउन । अधिकांश शिक्षक नयाँ जीवनहरूलार्ई आकार दिन अनि देश बनाउन आएका छैनन् । सोचको स्तर त्यो उचाइको कहिल्यै भएन, आएन । तब कसरी सही शिक्षा टुसाउला रु सही सीप र गुणहरूको गुबो पसाउला र?
दुई नमूना र उदाहरण घरको अवस्था हेरेर सहजै अनुमान गर्न सकिन्छ । घर र वातावरण प्रतिकूल, खाना प्रतिकूल, सोचको बीउ रोप्ने विद्युतीय खुराक पत्रु र प्रतिकूल अनि स्कुलले र शिक्षकहरूले मात्र के गर्न सक्छन् रु उनीहरू पनि विस्तारै कमजोर र असफल बन्नुको विकल्प नै छैन । हुँदैछ, त्यस्तै नै ।
यी दुई पत्रु चिजहरूको लतबाट जोगाउन नसके विद्यार्थीको पेट गरिब, दिमाग गरिब अनि घर पनि गरिब, विद्यालय पनि गरिब । समाज र देश त झन् हरिकंगाल । हुँदै, यस्तै छ अब । विस्तारै ।
३) विद्यालयको प्रकार र बढ्दो असमानता
मात्र बीस वर्ष अघिसम्म निकै धनीमानीका छोराछोरी र साधारण जनताका छोराछोरी झण्डै उस्तै र एकै प्रकारका स्कुलहरूमा पढ्थे । त्यसवेला पनि असमानता त थियो नै तर आजको जस्तो ठूलो र फराकिलो खाडल थिएन । तर आज सरकार झन् भन्दा झन् कमजोर हुनाले र शिक्षामा महत्व नदिनाले, सार्वजनिक शिक्षाको अवस्था दिनानुदिन दयनीय बन्दै गइरहेको छ । त्यो गुणस्तरको खाडललार्ई केही हदसम्म संस्थागत शैक्षिक संस्थाहरूले पुरेको छ । धानेको छ । तर त्यसमा पनि असमानता र अर्को खाडल निस्केको छ ।
कुनै संस्थागत विद्यालयहरू न्यूनतम पूर्वाधार नभएका, बाख्राको खोर बनाउन नसुहाउने पनि छन् भने कुनै साततारे होटल जस्ता । औंलामा गन्न सक्नेले त ती साततारे होटल जस्तामा खर्च गर्न सक्लान् तर बाँकी बहुसंख्यकले गर्ने के त रु सकी–नसकी भए पनि देखासिखी गर्दैछ तारे, पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे गर्दै तिनै बाख्रा खोरेसम्ममा पनि छोराछोरी नपठाई हुन्न । किनकि सामुदायिकहरूको हालत अकल्पनीय भयो । समाजको सोच त्यसरी नै बन्दै गयो । सामुदायिक स्कुल भनेको अति दुःखी गरिबहरूले मात्र पढाउने थलोको रूपमा विचार विकसित भयो । अतः त्यस्तै बन्दै गयो । तब, एक प्रतिशत गुणस्तर अनि बाँकी मध्यम र निम्नस्तर के होला रु समग्रमा, सम्पूर्ण शिक्षा पद्धति नै कमजोर अनि असफल ।
थोरै मात्र बालबालिक नजिकैको तारे स्कुलमा पढ्छन् । चिटिक्क अनि टक्क परेर जाने–आउने गर्छन् । स्कुलमा महिनै पिच्छे पचासौं हजार फि तिर्छन् । त्यस्ता स्कुलमा, अभिभावक शिक्षा निरन्तर दिइन्छ । शिक्षकहरूलार्ई पनि तालिम निरन्तर दिइन्छ, पढ्न लगाइन्छ, निरन्तर सिकाइन्छ । विद्यार्थीलाई पनि नयाँ नयाँ प्रयोग गरिन्छ, खोजिन्छ अनि सिकाइन्छ ।
केही थान पुस्तकबाट घोकाउने मात्र भन्दा पनि जीवन–जगत् र समयानुकूल र व्यावहारिक शिक्षामा जोड लगाउन कोसिस गरिन्छ । त्यसरी हुर्काइएका र सिकाइएका जनशक्ति आफ्नो देशमा जतै खाडल देख्छन् । आफूलाई समाज अनि देशका लागि योग्य देख्दैनन् र रोज्छन् अमेरिका अनि अष्ट्रेलिया । सक्दो छिटो । उनीहरूको घर बन्छ, अझ राम्रो बन्छ तर समाज र देशलार्ई योगदान न्यून रहन्छ । उनीहरू उतै पढ्छन्, कमाउँछन्, घरजम गर्छन्, बस्छन् अनि रमाउँछन् । विरलै मात्र देश फर्कन्छन् ।
त्यसैले त हाल नेपालमा स्कुलहरू भन्नाले तारे हैनन् अरू बाँकी मात्र बुझिन्छन् अनि तिनको हालत दिनानुदिन कमजोर बन्दैछ । न न्यूनतम भौतिक संरचना, न भोक भएका शिक्षक, न तिनलार्ई कुनै तालिम, न कुनै नवीन सोच र प्रयोग, तब विस्तारै सबै कमजोर र असफल बन्दैछन् । जुन विद्यालय, विद्यालय जस्ता छन्, तिनीहरू यो देशका लागि छैनन् ।
त्यहाँबाट निस्केका जनशक्ति अरू कसैको लागि मात्र योग्य छन् । जुन विद्यालयहरू र विद्यार्थी यो देशका लागि छन्, त्यहाँको गुणस्तर कतै काम नलाग्ने छ । तब, नयाँ पुस्ता पनि के पो गरुन् रु अलमलमा हुन्छन् र अन्तिम विकल्प कतै न कतैको हली बन्नुलार्ई नै लिन्छन् । आफ्नो देश र आफ्नाको भर नदेखेपछि अर्काको देश र शहरको रहरले हैन, बाध्यता बोकेर घरबाट पर लाग्छन्, भाग्छन् ।
४) प्रधानाध्यापक र शिक्षकहरूको निरन्तर सिकाइ नहुनु
घरमा बा–आमाले सकेसम्म नमूना स्वरूप पढेर बालबालिकालार्ई देखाउने हो, बानीको विकास गराउनको लागि । तर स्कुलमा त सबै शिक्षकहरूले निरन्तर साँच्चैको अध्ययन गर्नैपर्छ । निभेका वा बल्न नसकिरहेका मैनबत्तीहरू बाल्नको लागि, शिक्षकहरूले आफू बल्नैपर्छ । निभेको वा नबलेको शिक्षकले, अर्को बत्ती कसरी सल्काउन सक्छ रु दश वर्ष अगाडि धार लगाएको हतियारले आज पनि निरन्तर कसरी रूख काटिरहन सक्छ रु बीचमा निरन्तर धार नलगाइकन रु भएको यस्तै छ ।
धेरै स्कुलहरूका प्रधानाध्यापक र सञ्चालकहरू त झन् सिकाइ के हो रु शिक्षा के हो रु यसमा भएका पुराना र नयाँ प्रयोगहरू के छन् रु यसको महत्व कति छ रु बालमनोविज्ञान र विकास के हो रु उमेर, समय, समाज, देश अनुसार सिकाइ कसरी हुुन्छ रु आदि कुराहरूबारे फिटिक्कै चिन्तित र परिचित नभएका व्यावसायिक मानिसहरू मात्र पनि छन् । उनीहरूले विद्यालय र शिक्षाको भित्री मर्म कसरी बुझ्लान् रु अनि कसरी नयाँ उपाय र हरेक चुरो समस्याहरूको समाधान खोज्लान् ?
आजको शिक्षा निकै परिवर्तित भइसकेको छ । अब घोकाउने र कोच्याउने हैन । भोक जगाउने, भावना जागृत गर्ने, आत्मबल बढाउने, साहस भर्ने, दया माया र सहकार्यको भावना भर्ने र आफैं अनुभव गर्न दिनेको समय आयो । थोरै ज्ञान र धेरै काम सिकाउने समय आयो । थोरै सिक्ने तर सिकेको कुरालाई जोड्न सक्ने बनाउनु नै आजको आवश्यकता हो । सही ज्ञान वा अनुभवको ज्ञान त्यसैलाई भनिन्छ । तर यी सबै कुराहरूको चिन्तन र प्रयोग खै रु हामी निकै पछि छौं र प्रविधि र समय धेरै अगाडि गइसकेको छ । हामी अपडेटेड हुन नसकेपछि आउटडेटेड भइसकेका छौं ।
धेरैभन्दा धेरै सूचनाहरू संकलन गर्नु मात्र जान्ने हुनु हो भन्ने भ्रम हट्दै गएको छ । थोरै संकलित सूचनाहरूलार्ई जोडेर कुनै नयाँ सिर्जनात्मक र तुरुन्तै प्रयोगमा आउन सक्ने र बिक्री गर्न मिल्ने एप्समा परिणत गर्न सक्ने विद्यार्थी चाहिन्छ अब । अब भोगी मात्र हैन र जोगी मात्र हैन । दुवैको योग गराउन सक्ने योगीको उत्पादन गर्न सक्ने शिक्षक र विद्यालय चाहिन्छ । त्यो सर्वाङ्गीण विकास गराउने शिक्षक र प्रधानाध्यापक अनि विद्यालय संस्थापक कस्तो हुनुपर्ला रु प्रतिप्रश्न फेरि तेर्सिन्छ । के उसले आफूलार्ई निरन्तर धार लगाइरहनुपर्दैन रु गरेको खोइ रु
एक नर्सरी कक्षामा पढ्ने बालबालिकाले वर्षभरिमा कम्तीमा पाँच पुस्तकहरू पढेर सक्छन् तर तिनै बालबालिका पढाउने शिक्षकले वर्षभरिमा कुनै एक गतिलो पुस्तक पनि नपढेपछि हाल के होला रु मोबाइलमै समय गयो, सिर्जनशीलता टाढाको भयो भने जस्तो अवस्था छ ।
तीन वर्षका देखि दश वर्षका बालबालिका पढाउन झन् निकै पोख्त शिक्षकको आवश्यकता पर्छ तर त्यो जग बसाइदिने शिक्षक नै झोडझाडवाला परेपछि ती सन्ततिको हाल के होला ? तिनको भविष्यको चाल के होला ?आज, राम्रा र सक्षम मान्छे कोही पनि शिक्षक बन्न चाहन्नन् । कामचलाउ र भुत्ते मानिसहरू शिक्षकको रूपमा विद्यालय जस्तो पवित्र ठाउँमा छिरेर केही गरे जस्तो गर्न थाले के होला ?भएको यस्तै छ । तब, स्कूल कमजोर नबनेर को बन्ला ?
एक आमाले पनि एक सन्तानलार्ई नौ महिना पेटमा हुर्काउँछिन् । जन्माएर तीन वर्षसम्म चाकर गर्छिन् । बच्चाले भाषा सिक्छ । आदत सिक्छ । सोचले बीजारोपण गर्छ । भावनाको जरो पनि गाडिन्छ । आमाको बोली उसको बोली बन्छ, आमाको सोच र भावना उसकै भावना र सोच हुन्छ । बा–आमा र घरको दृश्य देखेर, उसको समग्र व्यक्तित्वको आकार बन्न थाल्छ । त्यो बालक स्कुल गएर कक्षा दश पुग्ने वेलासम्म पनि ती दुवै बाबु–आमाले दिनको आधा घन्टा पनि आफ्नो सिकाइमा लगाउँदैनन् र नमूना देखाउँदैनन् ।
तब, त्यो बच्चाले के देखेर सिकोस् रु फुर्सद भयो कि शिक्षकको अनि बा–आमाको हातमा कि मोबाइल छ कि टिभीको रिमोट । बच्चाले के सिकोस् रु कि उसले मात्र सिक्ने हो रु उसले मात्र पढ्ने हो रु उसले मात्र गृहकार्यको भारी घरमा पनि ल्याएर झोक्रने हो रु शिक्षकको गृहकार्य के रु बा–आमाको गृहकार्य हुन्न र रु प्रधानाध्यापकले पनि केही सिक्नु र सिकिरहनुपर्र्दैन र रु उनीहरूको गृहकार्य चैं के त रु
यस्तै चिजहरूको असमानता र बेमेल वातावरण देखेर अहिलेका बालबालिका पढाइमा तिक्तता भेट्दैछन् र त्यसको कर्मकाण्डबाट झन् भन्दा झन् टाढा भाग्न खोज्दैछन् । अन्ततः सबै कमजोर अनि सबै गरिब । विद्यार्थी, बा–आमा, शिक्षक, स्कुल, समाज अनि देश ।
५)चालीस मिनेटको पिरियड र सीमित समय
जुन समयदेखि यो हिमवत्खण्ड र भारतवर्ष भनिएको भूभागमा विदेशीहरूको आधिपत्य र आक्रमण सुरु भयो, त्यस समयदेखि शिक्षाको प्रकार अरूको निर्देशनमा गयो । मुगल शासकहरूले नालन्दा र तक्षशिलाको तागत जलाए, नाश गरे र मासे । गुरुकुल र त्यसको पद्धतिमा प्रहार गरे । टाठाबाठाहरूले त्यसमा फेरि थप नियम लादे र महिला र केही मानिसहरूलाई वञ्चित गरे ।
आफ्नो स्वार्थ र शक्तिको लागि धेरैलाई कमजोर बनाएर आफू टिकिरहन अनेक विभेदी नियम लादे । शक्तिले सत्यको शास्त्र बनाउँदै गयो । लेखाउँदै गयो । गलत इतिहास लेखिन थाल्यो । विभेदी र त्रुटिपूर्ण सत्यहरू स्थापित हुनथाले । अनेक कर्मकाण्डहरूको बहानामा अरूलाई कमजोर बनाउँदै तिनैमाथि शासन गर्न थालियो । तिनै कमजोरीहरू केलाउँदै वैदेशिक हस्तक्षेप बढ्न थाल्यो । जब, भारतमा विलियम एडम्स र टीबी म्याकुले आए, तब समग्र गुरुकुल शिक्षा कमजोर बन्दै गयो । बेकामको बन्दै गयो । अन्त्यमा गैरकानुनी बनाएर बन्द गराइन थालियो ।
गुरुकुलहरूको राम्रो पक्षहरूलाई समयानुकूल परिमार्जित गर्दै लैजान जरूरी थियो । नराम्रा कर्मकाण्ड र विभेदहरू हटाउनुपर्ने थियो । गलत, शक्ति र सत्ताका लागि लादिएका ऐन कानुन विस्थापित गर्नुथियो । तर तिनमा न सुधार गरियो, न युगौंदेखि प्रयोग गर्दै प्रमाणित तथ्यहरूको, सीप र राम्रा गुणहरूको संरक्षण गर्न सकियो । धेरै राम्रा कुराहरू मासिएर गए । एक पुस्तामा सीमित भए ।
धेरै कुराहरू लिखित रूपमा पनि आइसकेका थिएनन् । मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका कुरामा, एक ठूलो पूर्णविराम लाग्यो । नयाँ पुस्ता अधकल्चे बने । न कुनै कुरा पूरै थाहा छ, न त्यसको कुनै कारण थाहा छ । अनि सुरु भयो, बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटी ।
आज आएर, अलि अग्लो कदको मानिसले जे भन्यो, त्वम शरणम् गर्ने दिन आए । आजको शिक्षा पद्धति, अरू कसैले लादेको चिज हो । हाम्रो मौलिक र राम्रो चिज हैन । न अरूको परिपाटी हाम्रो आवश्यकता र वातावरण अनुकूल छ । नक्कल गरेर हामी कतै न कतैका बन्दै गयौं । नतिजा, अहिले घाम जस्तै छर्लङ्ग छ ।
आजको पश्चिमा सामूहिक र आधुनिक शिक्षा पद्धतिको जग औद्योगिक युगको सुरुवात भएपछि भएको हो । त्यसभन्दा अघि पनि मानिस अध्ययन गर्थे तर थोरैले मात्र । कि त्यसको महत्व बुझेका राजारजौटाका सन्तानहरू थिए, जसलाई थप ज्ञान, राज्य सञ्चालन गर्न आवश्यक पर्थ्यो, कि ती सन्त र ज्ञानी मानिसहरू जसले स्वाध्यायनको महत्व बुझेका हुन्थे ।
जब उद्योगहरू सुरु भए, त्यसमा काम गर्ने मानिसहरूमा केही सीप र खुबीको आवश्यकता पर्न थाल्यो, तब सामूहिक रूपमा तालिम केन्द्र सुरु भए । तिनै तालिम केन्द, स्कुलका रूपमा रूपान्तरित भए । विभिन्न प्रयोग र परिमार्जन हुँदै आजको रूपसम्ममा आएका हुन् ।
यो पश्चिमा पद्धतिको सुरुवातलाई पु्रसियन मोडल अनि रकफेलर मोडल भनिन्छ । रकफेलर भन्थे कि हामीलाई कुनै नयाँ कुराको चिन्तन गर्ने दार्शनिक चाहिने हैन, हामीलाई अह्राएको काम खुरुखुरु गर्ने कामदार मात्र चाहिएको हो । यी स्कुलहरूको उत्पादन त्यसैको लागि हो । यी विद्यार्थी समाजका लागि र देशका लागि कम तर कारखानाका लागि बढी हुन् । त्यसमा थप शिक्षाको कारखाने महत्व एन्ड्रु कार्नेगीले बुझे र अझ व्यापक सुरु गरे ।
फ्रेडरिक टि। गेट्सले साधारण शिक्षाको रूपरेखा कोरे । त्यो नाम नै काफी थियो । साधारण शिक्षा । साक्षर बनाउने शिक्षा । आजको हाम्रो मूल मन्त्र त्यै छ । यसको मूल नारा छ स्वतन्त्र इच्छालाई मार, काममा हात अघि सार । त्यो एक प्रकारको प्रमाणित दासता उत्पादन गर्ने अर्को कारखाना थियो ।
आज हामी त्यसैको अलिकति परिमार्जित रूप अक्षरशः पालना गरेर झन् भन्दा झन् कमजोर बन्दैछौं । फेल हुँदैछौं । अझ, आजको सञ्चारको र प्रविधिको युगमा । हामी झन् मानिसबाट अझ कमजोर द्रव्य संकलन गर्ने मेसिनमा रूपान्तरण हुँदैछौं ।
के यो चालीस मिनेटको समयमा हामी गणित विज्ञ बनेर निस्कन सक्छौं रु दश वर्षसम्म, गणित पढे जस्तो मात्र गरेर हामी के सिक्दैछौं रु के बन्दैछौं रु मेसिन घोकाइ र अलमल बढी, अनि उपयोगी ज्ञान कम । पहिलेको गुरुकुल पद्धतिमा गणितको अध्ययन कम्तीमा ६ महिनादेखि केही वर्षसम्म निरन्तर हुन्थ्यो । त्यसमा एक स्तरसम्म पुर्याएर मात्र छोडिन्थ्यो । त्यसपछि, अर्को विद्यामा पारंगत बनाइन्थ्यो । कसैले गणितमा नै बढी रुचि देखायो भने उसले त्यसमा थप ध्यान र अभ्यास गर्ने गर्थ्यो ।
यसरी ब्रतबन्ध गरेर गुरुकुल पसेको आठ वर्षका बालबालिका बीस तथा पच्चीस वर्ष ब्रह्मचर्य पालना गर्दै ज्ञानआर्जनमा लगाउँथे । आफ्नो रुचि अनुसारको विद्यामा थप विशेषज्ञता हासिल गर्थे भने १६ देखि ८४ प्रकारका विद्याहरूमा अभ्यास गर्थे ।
तिनीहरूमध्येमा घोडचढी, धनुर्विद्या, रसायन, खगोल, ज्योतिषदेखि तन्त्रमन्त्र र अनेक धातुका र अरू कालिगडी र साधनाहरू पनि समावेश हुन्थे । थोरै खोज र अध्ययन गर्दा त्यो समयमा के थियो, कस्तो थियो थाहा पाउन सकिन्छ ।
तर आज चालीस मिनेटमा फेरिने विषयगत ज्ञानको पित्को चाटेर के बन्ने होला रु एउटाको स्वाद थाहा नपाउँदै अर्को चिज चपाउनुपर्छ । यो कतै हैन, जतै गलत छ । थप, त्यसमा पनि भोक मार्ने अरू चिज छन्– होमवर्क र परीक्षा । कक्षा सात वा आठसम्म, होमवर्क र परीक्षा आजको रूपमा जे छ त्यसले फाइदा कम र हानि बढी गरेको छ ।
अक्षरा स्कुलकी प्राचार्य, अञ्जु भट्टराई लेख्छिन् कि यो होमवर्क र परीक्षाको कर्मकाण्डले बालबालिकालाई पढाइ र सिकाइबाट वितृष्णा पैदा गरिरहेको छ । यसको प्रकार र तौरतरिकामा हामीले तुरुन्त परिवर्तन गर्न सकेनौं भने, झन् भन्दा झन् बालबालिका सिकाइबाट टाढा हुँदै जानेछन् । यसमा धेरै सत्यता छ ।
यसरी आफ्नो माटो, हावापानी, समाज र संस्कार सुहाउँदो शिक्षा चटक्कै भुलेर हु–बहु अरूको नक्कल गरेर हामी पुग्ने आजको अवस्था नै हो । डिग्री हातमा, तर विना कुनै सीप र गुणको । अनि बेरोजगार । अनि कसैको हली । राज्यसत्तामा पुगेकाहरू पनि कसैको हली । कर्मचारीहरू पनि उनैको हली । जनता, झन् सबैको हली । कसैको मेसिनको कर्क र पार्टपुर्जा जस्तै । निर्देशन र चाबी अनुसार हल्लिरहने । कमजोर । असफल । भन्न सकिन्छ– ‘६ महिना गणितमा ध्यान, अनि न मिल्छ अनुभवको ज्ञान ।’
६) विविध अवतारलाई एउटै आहार
विविधता यो पृथ्वीको सार हो । पशुमा, वनस्पतिमा, चरामा, माटोमा वा ढुङ्गामा वा मानिसहरूमा । सबैमा । सबैको आ–आफ्नो महत्व छ । रुचि छ । बानी छ । स्वभाव छ । भोजन छ । बाँच्ने तरिका छ । सबै आ–आफ्नै प्राकृतिक गुणहरू समातेर बाँचेका छन् । तर मानिस अलि बढी बाठो भएर बढी कृत्रिम बन्दै गयो ।यसको अतिपन, उसैको विनाश हो । यो पक्का छ । यो कारिन्दा शिक्षा वा कारखाने शिक्षा, त्यो विविधता मास्ने र सबैलाई साझा रूख चढाउने र उल्लु बनाउने खेल भन्दा अरू केही होइन । हामी पनि त्यसैको शिकार भयौं र अरूलाई पनि हामी त्यही दोहोर्याइरहेका छौं । यहाँ के भइरहेको छ भने ‘भिन्न रूप, भिन्न रुचि, तर एउटै आहार कोची कोची १’
एउटै कक्षामा तीस अनि चालीस बच्चाहरू राखेर भेडाको हुल दौडाए जस्तो कुदाएपछि कसरी विविधता देखिन्छ रु बिचरा त्यो शिक्षकले चालीस मिनेटमा के के पो गरेर भ्याउनु होला रु हरेक बच्चा चिन्न थाल्ने कि कोर्स दौडाउन थाल्ने रु गृहकार्य नदिउँ त अभिभावकको ख्याउँ ख्याउँ रु दिएर कहिले त्यसलाई नियालेर परीक्षण गर्ने रु सरकार र पाठ्यक्रमको निर्देशन पनि मान्नै पर्यो रु
प्रशासनको आदेश पालना गर्नै पर्यो । यहाँ केही प्रष्ट छैन । बोल्न कोही सकेको छैन । तर समस्या अवश्य छ । यसरी हुँदै हुन्न ।
हरेक बालबालिका अनेक प्रकारका बीउ हुन् । एउटै ड्याङमा अनेक बीउको ब्याड बनाएपछि के होला रु एकै आमाका दुरुस्तै स्वरूप भएका जुम्ल्याहा सन्तानका त फरक–फरक रुचि र स्वभाव हुन्छ ।
सबैलाई एउटै आहार, एउटै खोर । एउटै ब्याड, एकै ठाउँमा गज्याङगुजुङ रोपेपछि के होला रु त्यो फरकपन छुट्याउने कसले रु फुर्सद कसलाई रु त्यो छुट्याउने ज्ञान आवश्यक पर्छ कि पर्दैन रु बाहिरको संसार नियाल्न सक्ने र आफैंभित्रको ब्रह्माण्ड चियाउन सक्ने सन्तति कसरी तयार पार्ने रु सोच्न आवश्यक छ । यही चुरो काम गर्न नसकेर राज्य असफल हुँदैछ, समाज, विद्यालय अनि हरेक घर ।
७)आत्मनिर्भर समय तर परनिर्भर शिक्षापद्धति
आजको समय कसैमा निर्भर हुने हैन, आफैंमा अनि आफ्नै मन, मुटु अनि पाखुराको बलमा केन्द्रित हुने समय आयो । समूह बनाउने र समूहभित्रको सही समन्वय गरेर ठूलो काम फत्ते गर्ने समय आयो । आफ्नो तस्बिर आफैं खिच्ने समय आयो । अरू कसैमा निर्भर हुनै पर्दैन । न सीप सिक्नमा, न कुनै गहिरो ज्ञान लिनमा ।
एलन मस्क आफैं अध्ययन गरेर रकेट वैज्ञानिक बन्न सक्छन् भने हाम्रा बालबालिका पनि आफूले चाहेको विज्ञ आफैं बन्न सक्छन् । पुराना जमानाका अनि आफ्नो हतियारमा वर्षौंसम्म पनि धार लगाउन नभ्याउने र नलाउने शिक्षकले आजको यो सेल्फी पुस्तालाई के अनि कसरी सिकाउन सकोस् रु त्यसैले त शिक्षक र विद्यालय पुराना र रुचि नभएका मानिस र स्थानका रूपमा विकसित हुँदैछन् । कमजोर अनि झन् कमजोर र अन्त्यमा असफल बन्दै जाँदैछन् ।
अब विद्यार्थीमा थप भार थपिएको छ । आफ्नो अध्ययन आफैं गर्ने । आफैंबाट आत्मअनुशासित बन्ने । सम्पूर्ण चिजहरूको व्यवस्थापन आफैं गर्ने । आफ्नो रुचिको काम, साथी र अवसरहरू आफैं खोज्ने । आफ्नो सोच र भावनाको ब्याट्रीको चार्ज सकिए आफैं रिचार्ज गर्ने । आफ्नो उत्प्रेरक आफैं बन्ने ।
सबैको भूमिका आफैंमा सार्ने र सबैको कर्म आफैंमा भर्ने । नत्र कुनै आशा, सहयोग र समाधान बाहिर कतैबाट नआउने भयो । सबै सहयोगहरू नै आफैं कमजोर र मेसिन बन्न थाले । बा–आमा कमजोर । घर कमजोर । शिक्षक कमजोर । विद्यालय कमजोर । समाज कमजोर अनि देश र समग्र वातावरण कमजोर । समग्र सिक्ने र सिकाउने पद्धति नै कमजोर ।
८)घट्दो पढाइप्रतिको प्रेम
आजका मानिसलाई छिटो नतिजा पाउने र रमाउने होडले जकडेको छ । मानिसमा पढाइको धैर्य नै छैन । पढाइ त एक प्रकारले ध्यान हो । तीन घन्टा कुनै पुस्तक समातेर त्यसमा झोक्रन सक्नु नै सबैभन्दा ठूलो ध्यानको एक विधि हो । तर आजको प्रविधिको युगले हरेक मानिसको सोच र ध्यानलाई खण्डित गरेको छ । टुक्रे बनाएको छ । तीन सेकेन्डमा नयाँ स्वाद खोज्ने बनाएको छ । अधैर्य पारेको छ । यसलाई एक प्रकारको मानसिक समस्या पनि ठानिन्छ । त्यसलाई अंग्रेजीमा एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर – एडीएचडी– भनिन्छ ।
हरेक घर, विद्यालय, शिक्षक, बालबालिका सबै यसको धेरै थोरै शिकार बनिसकेका छन् । समस्याग्रस्त नहुञ्जेलसम्म बाहिर देखा नपरेको मात्र हो । भित्रभित्रै यसले सबैलाई खाइसकेको छ । कोभिडपछिको समयमा झन् यसको असर व्यापक देखिन थालेको हो । त्यो समयमा मानिस फुर्सदमा भए र त्यसैको नशामा थाहै नपाई झरे, परे ।
अनलाइन कक्षाको असर भर्खर प्रकाशित कक्षा १२ को नतिजामा पनि छर्लङ्ग भएको छ । ५० प्रतिशत उच्च शिक्षा पढ्न नपाउने भएर निस्केका छन् । धेरैले त एक अनुच्छेद नेपाली र अंग्रेजी खरर्र पढ्न पनि सक्दैनन् । यो हालत कसरी भयो रु चिन्तन गर्न र समाधान खोज्न तुरुन्त आवश्यक छ १
दूध खाए कहिले कहिले, रक्सी खाए अहिले भन्ने उखान यता पनि परिमार्जित भएर आइसकेको छ– किताब पढे कहिले कहिले, काम गरे अहिले । छिटो छिटो कमाउनुछ अनि रमाउनुछ । तर अध्ययनमा त त्यस्तो हुन्न । सुखार्थीलाई विद्या कहाँ, विद्यार्थीलार्ई सुख कहाँ रु पुरानो गुरुकुलको प्रसिद्ध भनाइ आज लागु कतै हुन्न । सुख खोज्ने शिक्षक अनि झन् सुख खोज्ने विद्यार्थी भएपछि, स्कुलहरू पनि झन् भन्दा झन् सुखमुखी बन्दै गएका छन् । सुख सँगै खर्च पनि बढेको छ । त्यो खर्च जुटाउन बाउआमा अठार घन्टा जोतिएका छन् अनि घोटिएका छन् । तर नतिजा भने न्यून छ ।
अन्त्यमा, खाने विद्यार्थीले हुन्छ । भोक उसैमा जाग्नुपर्छ । सुखले भोक जगाउँदैन । कोच्याएर भोक मर्दैन । काँधमा बोकेको बाघले मृग पनि मार्दैन । हुँदै, त्यस्तै छ । अनि अन्त्यमा, विद्यार्थी असफल त बा–आमा असफल । अनि शिक्षक असफल र विद्यालय पनि असफल । हामी यतै जाँदैछौं । यसमा आमूल सुधार नगर्ने हो भने अझै तल झर्दैछौं ।
९) बाहिरबाट भर्ने हैन, भित्रैबाट गर्ने भोकको कमी
बाहिरबाट जति भरे पनि केही हुन्न । जगले हैन, बाल्टीले खन्याए पनि केही हुन्न । टोलका शिक्षकको ठाउँमा विदेशका प्रोफेसर ल्याएर भर्न लगाए पनि केही हुन्न । वास्तवमा अनुभवको ज्ञान मात्र सही ज्ञान हो भनिन्छ । अनुभव गर्न काम गर्नुपर्छ । कामको भोक, भित्रबाट नै टुसाउनुपर्छ । भित्रैबाट आफैं नै, त्यसको मूल फुट्नुपर्छ । त्यो मूल फुट्ने बनाउन घर, बा–आमा, शिक्षक र विद्यालयले हरेक बच्चाको जरुवा मूल के हो रु चिन्न सक्नुपर्छ । चिनाउन सक्नुपर्छ । त्यसको लागि सही वातावरण बनाइदिन कोसिस गर्नैपर्छ ।
तर त्यसरी हरेक बच्चाको भित्रको भाव चिन्न खोज्ने शिक्षक र विद्यालय आज भेटिन्छन् त रु यो सुखार्थी समयमा त्यो सबै झन्झट व्यहोर्ने कसैलाई फुर्सद छैन । भीडमा सबै कुद्दछन् अनि जो अगाडि अगाडि जान्छ, उसैको विज्ञापन हुन्छ, काँधमा बोकिन्छ । बाँकी बीचमा कुद्ने र पछाडि पर्ने, पछाडि नै परिरहन्छन् । तिनको उद्धार गर्ने फुर्सद कसैमा हुन्न १
अनि तीस जनामा पाँच जना सफल, बाँकी असफल वा कामचलाउ । यसले अन्ततः स्कुल कमजोर र असफल बनाउँदै लगेको छ । बा–आमाको दुःख र मर्म बुझ्ने भावना, शिक्षक र विद्यालयको कर्म बुझ्ने भावना कुनै विद्यार्थीमा छैन आज । भावनात्मक रूपमा सबैलाई मारिसकेको छ यो समय र यसको प्रविधिले । सबै खहरे खोलामा मरेको माछा झैं भइसकेका छन् । तर ज्ञान र सफलता त भावना र त्यसको तीव्रता हो । वेग हो । त्यो भावना खै रु त्यसको वेग खै रु त्यसको तीव्रता खै रु
१०) भौतिक र आध्यात्मिकतामा असन्तुलन
मानिस बढी विज्ञान र भौतिक चिजहरूमा आकर्षित भयो र हरेक कुरामा तर्क खोज्न थाल्यो । तर दया, माया, प्रेम, सद्भाव, विश्वास साथै समग्र आध्यात्मिकता बिर्संदै गयो । भुल्दै गयो । यो ब्रह्माण्डमा जतै ऊर्जा छ तर अदृश्य रूपमा मात्र । प्रकाश ऊर्जा हो । वायु ऊर्जा हो । विचार ऊर्जा हो । दया, प्रेम र विश्वास पनि ऊर्जा हुन् ।
तत्व र ऊर्जामा खासै भिन्नता नै छैन । तत्व भित्र ऊर्जा हुन्छ अनि ऊर्जा भित्र तत्व । वास्तवमा हरेक तत्व भनेको नै ऊर्जाको पुञ्ज हो । हामीले यो ऊर्जाको भाव कम बुझ्नाले सन्तुलन बिग्रँदै गएको छ ।
दृश्य र भौतिक चिजको मोहले सबैलार्ई बढी तान्यो । मानिस, अर्को एक मेसिन बन्यो । मानिस भित्र हुने आफ्नो गुणहरू विस्तारै गुमाउन थालेपछि, मानिस जिनिस जस्तै बन्न थाल्यो । जिनिसको न भावना हुन्छ, न दया र प्रेम । तर सिकाइ त जिनिस हैन । घोटेर पिलाउन पनि सकिन्न । यो त भावना हो, विश्वास हो ।
भौतिकशास्त्री मोहम्मद अब्दुल्ला अनुमान लगाउनुहुन्छ कि यो पूरै ब्रह्माण्डमा लगभग ८० प्रतिशत डार्क इजर्जी वा ऊर्जापुञ्ज छ र बाँकी २० प्रतिशत मात्र तत्व छ । हालसम्म पनि त्यो ऊर्जा के हो प्रष्ट नभएपछि वैज्ञानिकहरूले त्यसलार्ई डार्क इनर्जी भनिदिएका छन् । हामीलाई चलाउने ऊर्जा पनि त्यस्तै होला । अनुमान गर्नै कठिन । तर एउटा कुरा निश्चित छ कि यसको सन्तुलन विस्तारै बिग्रँदै गइरहेको छ । हामीले थोरै र कम महत्वको केही चिज पाउन, धेरै गुमाउँदैछौं । यसले समग्र सन्तुलन बिगार्दैछ । थोरै सचेत बन्ने वेला आएको छ, फेरि सन्तुलन मिलाउनका लागि ।यो सामाग्री हामीले अनलाइन खबरबाट साभार गरेका हौँ ।
तपाइको प्रतिक्रिया दिनुहोस्