समाचार
झ्याप्ले खोलामा चार चालकका त्रासदीपूर्ण ४० घण्टा
वीरगञ्ज बैरेनी नाकाबाट ११३ घण्टामा काठमाडौंका ट्यांकर चालक राजकुमार लामा, रुस्तम हुसेन, केशव सुनार र अस्लाम अन्सारी । भारतको बरौनीबाट हवाई इन्धन लोड गरेर आएका ट्यांकर चालकहरु राजकुमार लामा, रुस्तम हुसेन, केशव सुनार र अस्लाम अन्सारी असोज १४ गते राति १ बजे कोठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपो आइपुगे ।वीरगञ्ज बैरेनी नाकाबाट ११३ घण्टामा काठमाडौं आइपुग्दा उनीहरु फतक्क गलेका देखिन्थे ।ना ८ ख १५०७ का चालक लामा ९५१०, ना ४ ख ३४०३ का चालक हुसेन ९५७०, ना ७ ख २८०४ का चालक सुनार ९४४० र ना ४ ख ८६९० का चालक अन्सारी ९३९० असोज ९ गते बिहान ८ बजे बरौनीको तेल डिपोबाट ट्यांकर लिएर हिँडेका थिए ।बरौनीबाट विरगञ्ज नाका हुँदै काठमाडौंसम्मको यात्रामा ३६९ किलोमिटर दूरी पार गर्नुपर्छ । अन्य समय १७ घण्टामा पार गर्ने यो बाटो पूरा गर्न यस पटक उनीहरुलाई १ सय १३ घण्टा खर्चिनुपर्यो ।धेरै पटक यो बाटो भएर इन्धन ढुवानी गरिरहने ती चारैजना चालकहरुको जीवनमा यसपटकको यात्रा अनुभव फरक छ । उनीहरुका लागि यो यात्रा बनेको छ–भोकरत्रासरपीडारदुःखको यात्रा ।सामान्य अर्थमा भन्ने हो भने जीवन पछ्याउँदै मृत्युमार्गमा हिँडिएको कहालीलाग्दो यात्रा जस्तो ।वर्षादेखि वर्षासम्मको यात्राबरौनीबाट हिँडेदेखि नै पानी परिरहेको थियो, मुसलधारे पानीका कारण यात्रा असहज त्यहीबाटै भइरहेको थियो । ‘१० गते बिहान मात्रै वीरगञ्ज भन्सार आइपुग्यौं । पानी रोकिएन झन् बढिरहेको थियो करिब १ बजे मात्रै भन्सार क्लियरेन्स गरेर हिँडेपनि हेटौंडाभन्दा अगाडि बढ्ने हिम्मत भएन र चारैजना त्यही बस्यौ’, राजकुमार लामाले भने ।
भीमज्वाला राई ।
हुसेनका अनुसार ११ गतेपनि पानी रोकिएन । तर, इन्धन हामीले काठमाडौं पुर्याउनै पर्ने बाध्यता थियो । ‘बिहानको खाना खाएर हिँड्यौं । पानी रोकिएन । सडकैभरि पानी नै पानी थियो, खोला बढिरहेको थियो’, टोलीमा भएकामध्ये अलि पाका उमेरका उनले भने, ‘बाढीसँगै मनमा डर पनि बढिरहेको थियो । त्यही भएर हामी चारैजना थोरै अघिपछि गर्दै विस्तारै हिँडिरहेका थियौं ।’साँझ ६ बजेमात्र उनीहरु बल्लतल्ल मलेखु आइपुगे । सडकभरि गाडीका लामालामा ताँती थिए । जाम छिचोल्दै अगाडि बढ्न सक्ने स्थिति नै थिएन । होटल पनि भरिभराउ भइसकेका थिए । पानी अझै दर्किरहेको थियो, रोकिने छाँट देखाएको थिएन ।‘प्राय यात्रुहरु आ आफ्नै गाडीभित्रै थिए हामीलेपनि ट्यांकर साइड लगायौं एकैठाउँमा राख्ने ठाउँ भेटिएन भेटेको खाली ठाउँमा रोक्यौं’, आलम अन्सारीले भने, ‘तर पानी परिरहेकाले बाहिर निस्कन सकेनौं ।’राजकुमार लामाका अनुसार मलेखुबाट अगाडि बढ्न सक्ने स्थिति नबनेपछि खानाको जोहो गर्नतिर टोली लाग्यो । निकैबेर सोधखोज गरेपछि एउटा होटलमा खाना भेटियो । तर, त्यहाँ सादा खानाको पनि ३ सय रुपैयाँ लाग्ने सुरुमै होटलवालले बताए ।‘हामीले हुन्छ भन्यौं । खानासँग पानी दिन सकिँदैन भन्यो, त्यसपछि ३० रुपैयाँ हालेर बोत्तलको पानी किन्यौं’, लामाले भने, ‘हामीले त बल्लबल्ल खाना भेट्यौं । तर, त्यहाँ सडकैभरि यात्रुहरु थिए, कति भोकै थिए सबैले खानाकै खोजी गरिरहेका थिए ।’लामाका अनुसार त्यसदिन राति १२ बजेमात्रै जाम केही खुला भएको थियो । कछुवा गतिमा ट्यांकर बिहानतिरमात्रै झ्याप्ले खोला छेउमा आइपुगेको थियो । तर, त्यहाँ पनि फेरि जाममा ट्यांकर फस्यो । यात्रा रोकियो ।अस्लामका अनुसार झ्याप्ले खोलामा १२ गते बिहान ४ बजेदेखि १३ गते साँझसम्म ट्यांकर एक इन्च पनि सर्न पाएको थिएन । जहाँको त्यहीं रोकिएको थियो । उनीहरु जाममा परेको ठाउँ झ्याप्लेखोलादेखि करिब २ किलोमिटर थियो ।‘म सुरुङ मार्गको छेउमा परें, केशव र रुस्मान अलि पछि र राजकुमार त्यसपछि हुनुहन्थ्यो । झ्याप्ले खोलामा पहिरो खसेछ त्यही भएर जाम भएको भन्ने सुनियो’, अस्लामले सुनाए, ‘तर गाडीबाट निस्केर जान हेर्न सकिएन ।’राजकुमारका अनुसार त्यतिबेलासम्म पनि उनीहरु झ्याप्ले खोला पहिरोले गाडी नै पुरिएको भन्नेबारे बेखबर थिए । ‘पछि थाहा भयो, त्यहाँ गाडी र यात्रुहरु नै पुरिएको रहेछ । धेरैको ज्यान खाएछ पहिरोले । त्यो थाहा पाएपछि हामी त्रसित हुनथाल्यौं’, उनले भने ।उनीहरु जहाँ थिए, त्यस ठाउँ पनि सुरक्षित भने थिएन । राजकुमारका अनुसार माथि पहाडबाट ढुंगा, गिट्टी, लेदो र रुखका जराहरु झरिरहेका थिए । पानी पर्न रोकिएकै थिएन । ‘बाहिर कतै होटलहरु थिएनन्, भोक लागिरहेको थियो चिउरा र चाउचाउ जोहो गरेका थियौं त्यसैले भोक टार्यौं’, उनले भने ।रुस्मान अन्सारीले अगाडि थपे, ‘कतिबेला पहिरो खस्छ रु कुन गाडीमाथि रुख बज्रिन्छ, को माथि ढुंगा झर्छ पीरैपीर थियो, पिउनलाई पानीको अभाव छ, चनाखो बस्नु परेको छ निदाउन सकिँदैन, शरीरमा थकान उस्तै सडक खोला जस्तै थियो, हिलाम्य थियो ।’केशव सुनार ती दृश्यले आफूहरुलाई पनि त्रसित बनाएको बताउँछन् । उनका अनुसार पहिरो नखसे पनि माथिबाट झरेको ढुंगाले ट्यांकरमा लागे आगलागी भएर झन् ठूलो क्षति हुने प्रबल सम्भावना थियो ।‘मेरो मनमा के थियो भने हवाइ सबैभन्दा प्रज्वलनशील पदार्थ हो । यदी ट्यांकरमा पहाडबाट ढुंगा झरेर लाग्यो भनेपनि आगो बल्न सक्छ त्योबेला कसरी बाँच्ने भन्ने चिन्ताले सताइरहेको थियो’, उनले भने ।१३ गते पानी रोकिएको थियो । बाटोमा झरेका पहिरो पन्छाउन सुरु भएको थियो । चालक सुनारले भने, ‘यात्रुहरुको शव निकालिँदै थियो, मन बेचैन थियो । पहिरोको कापबाट कतिबेला छुट्कारा पाउने हतारो थियो । हामी मात्रै होइन सबैमा यही मानसिकता थियो ।’
साँझ ८ बजे बल्ल एकतर्फी बाटो खुलेको सूचना उनीहरुले पाए । त्यसपछिमात्रै सबै आआफ्ना गाडीमा चढेर केही सन्तोषका सुस्केरा हाल्दै अगाडि बढे । तर, गति उही कछुवा चाल ।‘जामले गाडी घस्रिँदै घस्रिँदै बल्ल बल्ल पाँच घण्टा लगाएर रातको १ बजे सिनामंगलस्थित डिपोमा छिर्यो । हामीले पनि १ सय १३ घण्टा लामो यात्रा र त्रासको यात्राबाट मुक्ति पाएको आभास सहित लामो सास फेर्यौं’, सुनारले भने ।अरुबेला चोकचोकमा, घुम्तीघुम्ती र मोडमोडमा देखिने भेटिने ट्राफिक प्रहरी, जनपद प्रहरी प्रशासन तीन दिनसम्मकै कतै पनि नदेखिएको उनीहरुको गुनासो छ । यात्रुहरु रोइरहेको, विक्षिप्त भएको र महिला, बालबालिकाहरु र पाका उमेर समूहलाई चाहिने आवश्यक सहयोगका बेला राज्यको तर्फबाट कुनै सहयोग पाएको नदेखेको उनीहरुको भनाइ छ ।
झ्याप्लेखोलामा पुरिएको बस निकाल्दै उद्धार टोली । फाइल फोटो ।
प्रहरी र सेनालाई १३ गते बिहानपख पहिरो पन्छाउने समयमा स्काभेटरमा इन्धन चाहिने समयमा मात्रै आफूहरुले देखेको उनीहरुले सुनाए । ‘३ दिनसम्म पहिरो पन्छाउने, बाटो सुचारु गर्ने केही पनि देखिएन,’ उनीहरुको चित्त दुखाइ छ, ‘यदी तदारुकता देखाएको भए यति लामो समय त्रासमा बस्नुपर्ने अवस्था कसैलाई पनि पर्ने थिएन ।’कष्टपूर्ण यात्रा पार गरेर इन्धन ढुवानी गरेका चारै जनालाई काठमाडौंमा सम्मान गरिएको छ । उनीहरुलाई यातायात स्वतन्त्र मजदुर संगठन, काठमाडौंले सम्मान गरेको हो । सम्मानपछि काठमाडौं जसोतसो ट्यांकर ल्याए पनि कसरी फर्किने भन्ने चिन्ताले सताएको अन्सारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्