प्रवास
जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी
केशब बिष्ट
जापान : जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीहरूले आफ्नै देशका नागरिकबाट ठगीमा परेका छन्।
पीडित विद्यार्थीहरूको भनाइ अनुसार, उनीहरूलाई रूम खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको छ।
एक विद्यार्थीले आफ्नो होस्टेलबाट नयाँ रूममा सर्नुपर्ने भएपछि परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग मागे। उक्त दिदीले जनक थापा मगर र उमेश तामाङ नाम गरेका व्यक्तिहरूसँग सम्पर्क गराइदिइन्, जसले रूमको व्यवस्थापन गर्ने वाचा गरे। यी व्यक्तिहरूले विद्यार्थीहरूको जाइरो कार्ड र इनकान समेत लिएका थिए, जुन दुई हप्तापछि फिर्ता गरियो।
रूम व्यवस्थापनको क्रममा नक्कली कागजात बनाइ विद्यार्थीहरूलाई रूम सारिएको थियो। ठगहरूले बैंकबाट भाडा काटिने र पानी नि:शुल्क हुने आश्वासन दिए। तर, पछि पानीको बिल अरूकै नाममा आएको र रूम भाडा नगदमा मागिएको खुलेको छ।
जब पीडितहरू आफ्नो गाक्कोमा गएर कागजात देखाउन पुगे, गाक्कोका नेपाली शिक्षकले कागजात नक्कली भएको भन्दै गाक्कोले सहयोग गर्न नसक्ने बताए र प्रहरीलाई सम्पर्क गर्न सल्लाह दिए।
विद्यार्थीहरूबीच ठगीको विषयमा छलफल भए पनि केही साथीहरूले उक्त रूम छोडेर बाहिर जान थाले। अन्ततः केही अन्य चिनजानका व्यक्तिहरूको सहयोगमा अपार्टमेन्ट मालिक, फुदोसान (रियल स्टेट एजेन्ट), र प्रहरीसँग कुरा भएपछि ठगहरूले झण्डै ३-४ लाख रकम असुलेको खुलेको हो। ठगहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीको अनुबन्धमा मनलाग्दी नाम राखेको पनि फेला पर्यो।
छलफलपछि ठगहरूले आफ्नो गल्ती स्वीकार्दै रकम फिर्ता गरेका छन्। पीडित विद्यार्थीहरू ठगीको घटनाबाट बच्न सबैलाई सजग रहन र जापानमा कानुनको पालना गर्न आग्रह गर्दै छन्।
जापान कानुनी रुपमा निकै सशक्त देश हो, त्यसैले ठगीको शिकार हुँदा चुप बस्नुभन्दा कानूनी सहायता लिनु नै उचित हुन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्