बैतडीमा शिक्षक मृत फेला प्रकरण : विद्यार्थी आन्दोलित

बैतडी । बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्या भएको भन्दै उनको गाउँका विद्यार्थी पनि आन्दोलित भएका छन् । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट गएको शनिबार मृत फेला परेका थिए ।
कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक बिष्ट मृत फेला परेपछि परिवारजनले हत्या भएको आशंका गरेका छन् । आफन्तहरुले अहिले सम्म मृतकको शव बुझ्न मानेका छैनन् ।
सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय माविका विद्यार्थीहरुले पनि मृतक बिष्टको लागि न्यायको माग गर्दै आन्दोलन गरेका छन् । विद्यार्थीहरुले सतबाँझ बजारमा नाराबाजी गर्दै शिक्षक बिष्टको हत्या भएकाले दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।
यसअघि पाटनमा पनि विद्यार्थीहरुले शिक्षक बिष्टलाई न्याय दिनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
शिक्षक बिष्टको हत्या गरेर शव फालिएको परिवारजन आशंका गरेका छन् । मृतक बिष्टको दाँत टुटेको, मुखमा घाउ रहेको र शरीरमा निलडाम रहेकाले हत्या भएको उनका भतिजा लोकेन्द्र बिष्टले बताए । घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाही नहुँदा सम्म आफूहरुले शव नबुझ्ने उनले बताए ।