शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिए

डडेल्धुरा ,४ जेठ । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लागेको छ । इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको जानकारी दिए । कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्याइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिए । विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।