काठमाडौँ ,०९ असोज।आजकलका मानिसको सबभन्दा प्यारो वस्तु मोबाइल फोन बनेको छ । उनीहरू जतिखेर पनि मोबाइलमा झुण्डिरहेका भेटिन्छन् । तर अमेरिका जस्तो विकसित देशमा एउटा यस्तो शहर छ, जहाँ न मोबाइल छ, न वाईफाई छ, न रेडियो छ ।
वेस्ट भर्जिनियामा पोकाहोन्टास काउन्टीमा रहेको ग्रीन बैंक शहर संसारकै सबभन्दा शान्त क्षेत्र हो । शहरमा कसैले पनि मोबाइल फोन प्रयोग गर्दैन । त्यहाँ रेडियो र टेलिभिजन पनि छैन । आधुनिक प्रविधिबाट यो मुक्त छ ।
ग्रीन बैंकमा संसारको सबभन्दा ठूलो यताउति चलाउन मिल्ने रेडियो टेलिस्कोप छ । त्यो भएको हुनाले शहरमा इलेक्ट्रोम्याग्नेटिक वेभ उत्पन्न गर्ने सबै उपकरणमा प्रतिबन्ध लगाइएको छ ।
रेडियो टेलिस्कोपले टाढा अन्तरिक्षबाट आउने इलेक्ट्रोम्याग्नेटिक वेभको पहिचान गर्छ । यस्तोमा आफूनजिक अन्य वेभ आएमा उसले सही रीडिङ दिन सक्दैन ।
मोबाइल, वाईफाई र टीभी मात्र नभई यो शहरमा पेट्रोल गाडीमा पनि प्रतिबन्ध छ । इन्जिनमा विद्युतीय स्पार्कको प्रयोग भएर इलेक्ट्रोम्याग्नेटिक वेभ निस्कन्छ ।
ग्रीन पार्कमा मात्र नभई नजिकैको १३ हजार वर्ग माइल क्षेत्रमा विद्युतीय डिभाइस लग्न प्रतिबन्ध छ ।
ग्रीन बैंकमा अहिले १५० जना जति बस्छन् । उनीहरू आफ्नो जीवन वरदानका रूपमा हेर्छन् । त्यहाँका बालबालिका मोबाइल फोन र टीभीमा टाँसिनुभन्दा एकअर्कासँग कुराकानी गर्न र खेल्न मन पराउँछन् । बाहिरका मानिससँग
कुराकानी गर्नुप–यो भने उनीहरू पेफोन बूथ प्रयोग गर्छन् ।
रमाइलो कुरा त, विगत केही वर्षमा अन्य ठाउँका मानिस यहाँ आएर बस्ने गरेका छन् । सन् २००७ मा पतिसँग यहाँ आएकी डियान शू भन्छिन्, ‘यहाँको जिन्दगी पर्फेक्ट छैन । यहाँ किराना पसल छैन । रेस्टुराँ छैन । अस्पताल पनि छैन ।
तर म यहाँ स्वस्थ छु । मेरो टाउको जतिखेर पनि दुख्ने हुँदैन ।’