एउटै मन्त्रालयमा दुई पार्टीका मन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले २१ दिनपछि मंगलबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे । यसअघि पुस ११ गते आफूले पद तथा गोपनियताको सपथ लिँदा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री दाहालले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका छन् । जनता समाजवादी पार्टी जसपा भने दाहाल नेतृत्वको सरकारमा सहभागी भएन । उसले तीन मन्त्रालय पाउनु पर्ने अडान राखेको छ भने सत्ता गठनन्धनले दुई मन्त्रालय मात्र दिएको छ ।
एउटै मन्त्रालयमा दुई पार्टीका मन्त्री
मंगलबारको मन्त्रिपरिषद् विस्तारपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेकपा एमाले नेता पदम गिरीले पाएका छन् । उनी पर्वतबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी डा तोसिमा कार्कीले पाएकी छन् । उनी ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् ।
सामान्यतया मन्त्रालय र उक्त मन्त्रालयको राज्यमन्त्रीमा एकै दलका व्यक्ति हुने परम्परा थियो र यसै अनुसार दलले दाबी गर्थे पनि । तर, यस पटकको मन्त्री मण्डलमा भने फरक पार्टीका मन्त्री एउटै विभागमा रहेका छन् । यसले कार्यसम्पादनमा सहज गर्छ की असहज भोलिका दिनमा पक्कै थाहा हुनेछ ।