बालेनको सुकुम्बासी बस्ती हटाउने योजनामा धक्का : गृहले पठायो सहयोग गर्न नसकिने जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाको सुकुम्बासी बस्ती हटाउने कार्यमा संघीय सरकारले तत्कालकै सहयोग नगर्ने भएको छ । महानगरले डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र वस्ती हटाउने कार्यमा सहघाउन गृहमन्त्रालयलाई आग्रह गरेको थियो ।
वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो ।
१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो । १९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ ।
‘‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ,’ पत्रमा भनिएको छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तोकिएको विधि, कानुन र प्रक्रियाअनुसार महानगरले चालेको कदममा गृह मन्त्रालयले सघाउने बताउँछन् । गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ ।
महानगरपालिकाका एक अधिकारी गृहको पत्रअनुसार अघि बढ्ने हो भने सकुम्बासी बस्ती हटाउन महानगरपालिकाले राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया अघि बढाउन सक्ने अवस्था आएको बताउँछन् ।
९ भदौ २०७९मा भूमिका आयोगका अध्यक्ष केशव निरौला र मेयर बालेन्द्र साह ९बालेन० बीच भएको समझदारीअनुसार भूमिहीन दलित, भूमिहीन सुकम्वासी र अव्यवस्थित बोसोवासीको पहिचान र प्रमाणीकरणका लागि आयोगले महानगरलाई आवश्यक कार्यविधि उपलब्ध गराउनेछ । यसका लागि कार्यायोजना बनाएर काम गर्ने समझदारी आयोग र महानगरबीच भएको छ ।