बाघको नयाँ बासस्थान बसन्ता र लालझाडी

धनगढी । कैलालीको बसन्ता र मोहना–लालझाडी जैविक मार्ग आसपासका बस्ती छेउछाउ बाघ देखिन थालेको छन् । घाँसदाउराका लागि वनभित्र पस्नसमेत स्थानीय डराइरहेका छन् । राति खोर र गोठभित्रका बाख्रा, बंगुर र गाईगोरुसमेत खान लागेको स्थानीयले बताएका छन् ।
मोहना–लालझाडी जैविक मार्गभित्र पर्ने गंगाजमुना सामुदायिक वनकी अध्यक्ष अस्तिनु चौधरीले दिउँसै बाघ देखिन थालेकाले स्थानीयलाई वनको छेउछाउ जान पनि डर लाग्ने गरेको बताइन् । रामजानकी बस्तीको अर्को बस्ती जाने मूल बाटो नै सामुदायिक वनको छेउ भएर जानुपर्छ ।
बसन्ता जंगलछेउका कैलारी ५ र ७ वडाका बासिन्दाले पनि एक सातादेखि बाघ बस्तीनजिकै देखिन लागेको बताए । जंगल छेउको खेतमा जाने क्रममा बाघ देखिएको वडा नम्बर ७ का खेमराज चौधरीको भनाइ छ । ‘बाघको घाँटीमा बेल्ट बाँधिएको थियो, वयस्क थियो,’ उनले भने, ‘५ नम्वर वडाका बासिन्दाले चार र पाँच दिनअघि यहीं बाघ देखेका रहेछन् ।’ स्थानीयलाई अहिले घाँस दाउराका लागि जंगलभित्र पस्नसमेत डर लाग्ने गरेको उनले बताए ।
डिभिजन वन कार्यालय प्रमुख केशव पराजुलीले घाँटीमा बेल्ट बाँधिएको बाघ सीमावर्ती भारतको दुधुवा नेसनल पार्कबाट आएको र अहिले फर्किसकेको बताए । ‘दक्षिणमा दुधुवा र उत्तरमा चुरेसम्म जोडिएको जैविक मार्गमा कहिलेकाहीं बाहिरबाट पनि बाघ घुम्न आउँछ,’ उनले भने, ‘घुम्न आएको बाघ एक–दुई सातामा फर्केको देखिन्छ ।’ तर कैलालीको चुरेदेखि दुधुवासम्म २५ हजार हेक्टरमा फैलिएको बसन्ता जैविक मार्गमा बाघको नयाँ बासस्थान बनेको डिभिजन वन अधिकृत पराजुलीको भनाइ छ ।