रेशम आजै नछुट्ने, डिल्ली बजार अगाडि कार्यकर्ताको भिड

कठमाण्डौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि उनी आजै छुट्ने आकलनमा पार्टीका नेता–कार्यकर्ताको डिल्लीबजार कारागारअघि भिड लागेको छ ।
फूलमाला र पार्टीको झन्डासहित कार्यकर्ताह जम्मा भएका छन्। तर, कारागार प्रशासनले भने उनी आजै छुट्ने सम्भावना नभएको जनाएको छ। जेलर वसन्त पुरीका अनुसार चौधरीलाई छाड्ने पत्र आएको छैन ।
सरकारले ल्याएको अध्यादेश कार्यान्वायनमा गए पनि उनी छुट्न केही दिन लाग्ने गृह मन्त्रालयका अधिकारी बताउँछन् । अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बल्ल कार्यान्वयनमा जानेछ। त्यसपछि मुद्दा फिर्ता लिनका लागि सम्बन्धित अदालतबाट सहमति लिएर सरकारले फेरि निर्णय गर्नुपर्ने हुन्छ ।
टीकापुर हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका चौधरी विगत पाँच वर्षदेखि कारागारमा छन् । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा उनको पार्टीले तीन र स्वतन्त्र एक गरी चार सिट जितेको छ ।
नयाँ बन्ने सरकारलाई समर्थन गर्न चौधरीले आफूमाथिको मुद्दा फिर्ताको माग राख्दै आएका छन् । सोहीअनुसार सरकारले फौजदारी कार्यविधि अपराधसंहिता संशोधन गरी राजनीतिक आन्दोलनसँग जोडिएका जस्तोसुकै गम्भीर प्रकृतिका मुद्दा पनि फिर्ता लिन सक्ने प्रावधान राख्न लागेको हो ।