डोटीमा शक्तिशाली भूकम्प : ६ जनाको मृत्यु, एक दर्जन बढी घाइते

धनगढी, कात्तिक २३। डोटीमा मध्यरातमा शक्तिशाली भूकम्पले घर भत्किदा ६ जनाको ज्यान गएको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रेम बोहरा, सीता बोहरा,भगवती बोहरा, हर्क बोहरा, धनसरि बोहरा, तुल्छी बोहरा रहेका छन् ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।
एक दर्जनभन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताए । २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।
गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।
घाइते हुनेहरुको तथ्यांक आउन बाकी छ