कृष्णसार बढे, व्यवस्थापन योजना छैन

कञ्चनपुर,२९ भदौ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बर्सेनि बढिरहेको छ । करिब ५९ वर्गकिलोमिटर क्षेत्रमा संरक्षित गरिएको कृष्णसारको संख्या उल्लेख्य मात्रामा वृद्धि भएपछि तिनको व्यवस्थापनमा समस्या हुन थालेको छ ।
बर्दियाको खैरापुर र नेपालगञ्ज मिनि चिडियाखानाबाट गरी २०१२ देखि २०१५ सम्म ४२ कृष्णसार स्थानान्तरण गरिएको थियो । उक्त संख्या बढेर अहिले ६७ भाले, ८७ पोथी र ४९ पाठापाठी गरी २०३ पुगेको छ । अहिले हिरापुर फाँटामा ५९ वर्गकिलोमिटर क्षेत्रमा घेरबार गरेर कृष्णसारको व्यवस्थापन भइरहेको छ । उक्त क्षेत्रमा चरनसंँगै अतिरिक्त आहाराको समेत व्यवस्था गरिएको छ । ‘अब कृष्णसारको व्यवस्थापनबारे सोच्नुपर्छ, सरकारले योजना पनि बनाइरहेको छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अहिलेकै संख्या व्यवस्थापनमा समस्या छैन, तर बढ्दै गएपछि गाह्रो हुन्छ ।’
स्थानान्तरण गरिएको सुरुका वर्षमा भालेहरू आपसमै लड्ने तथा जुकाका कारण मृत्यु हुने गरेका कारण यसको संख्या बढ्न सकेन । तर केही वर्षयता भने निकै उत्साहजनक ढंगले संख्या वृद्धि भइरहेको छ, जसले निकुञ्ज मात्रै नभई वन्यजन्तु संरक्षण विभागलाई समेत सोच्न बाध्य बनाएको छ । ‘विभागले कार्ययोजना बनाइरहेको छ, अब छिट्टै व्यवस्थापन हुन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘कृष्णसार व्यवस्थापनका लागि एक किसिमका ड्राफ्ट बनेको पनि छ, त्यसमा छलफल चलिरहेको छ ।’ उनका अनुसार यहाँको कृष्णसार अन्यत्र स्थानान्तरण गर्ने, यही खुला छाड्ने वा अहिले संरक्षण गरिएको स्थानको क्षेत्रफल बढाउने लगायतका विषयमा छलफल भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पनि स्थानान्तरण गर्न सकिने मेहता बताउँछन् । उनका अनुसार केही वर्षअघि सम्भाव्यता अध्ययन पनि गरिएको थियो । ‘अब घेरबारभित्र मात्रै नभई यहाँ पनि केही छाड्ने र प्रकृतिमा रमाउन दिने विषयमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘बिस्तारै प्रकृतिमै रमाउन सके व्यवस्थापन सहज बन्दै जान्छ ।’ शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज बाह्रसिंगाको प्रमुख बासस्थान हो । पछिल्ला गणना अनुसार यहाँ बाह्रसिंगाको संख्या २३ सय बढी छ । गत वर्षको राष्ट्रिय गणनाअनुसार यहाँ बाघको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको संख्या संख्या ३६ पुगेको छ ।