चिनीको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं,२९जेठ। चिनीको मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले पछिल्लो समय चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको जानकारी दिएका छन ।
संघले जेठ १५ गते पठाएको तथ्यांकअनुसार चिनी प्रतिकिलो एक सय रूपैयाँ थियो।
पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उनी बताउँछन् ।
‘चिनीको मूल्य हामीले बढाएको जस्तो गर्छन् । हामीले पनि उद्योगीसँग किनेर ल्याउने हो,’ उनले भने, ‘उतै मूल्य बढेकाले हामीले मूल्य बढाएका हौं ।’
उनका अनुसार भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए देखिँनै चिनीको मूल्य प्रतिकिलो दुईदेखि तीन रूपैयाँ गरेर उद्योगीले बढाइरहेका छन ।
उनले गत बिहीबार उद्योगीबाट चिनी खरिद गरेका थिए । उक्त मूल्यका आधारमा चिनी प्रतिकिलो प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको हो । फेरि, नयाँ चिनी ल्याउँदा उपभोक्ता मूल्य अझै बढ्न सक्ने उनले बताएका छन ।
खुद्रा चिनी बेच्दा खुद्रा व्यापारीलाई किलोमा दुईदेखि पाँच रूपैयाँ मात्रै फाइदा हुने उनले बताए । सरकारले किन चिनीको भाउ बढिरहेको छ भन्ने विषयमा तत्तकाल अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।