काठमाडौं,२फागुन। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देश भरि नै तेस्रो चरणको अन्तिम विरोध सभा गर्दैछ ।सभालाई सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । तेस्रो चरणको अन्तिम विरोध सभामा सहभागि हुन सभापति देउवा रुपन्देहीको बुटवल जाँदै छन् । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा। शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
यसैगरी नेता कृष्णप्रसाद सिटौलाले झापा, प्रकाशमान सिंहले पोखरा, डा। शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा।मिनेन्द्र रिजालले प्युठान, डा। रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्ने छन् ।
यसअघि तेस्रो चरणको कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कांग्रेसले १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा र दोस्रो २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा गरेको थियो ।
यस्तै अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो ।
दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।
यसैबीच सभापति देउवाले संसद् विघटनविरुद्धको कांग्रेसले सोमबार गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले आइतबार वक्तव्य जारी गरी प्रतिनिधिसभा विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन् ।
देउवाले वक्तव्यमा भनेका छन्, ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु ।’
वक्तव्यमा संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागितासाथ सम्पन्न भएको भन्दै देउवाले अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन भनेका छन् । ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ,’ देउवाले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’