धनगढी,०१ माघ । माघे संक्रान्तिको लागि तरुल किन्नेहरुको तरकारी बजारमा भिड देखियो । माघे संक्रान्तिमा देशैभर अत्यधिक तरुल खपत हुन्छ ।
धनगढी उपमहानगरपालिकाका तरकारी बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, वन तरुल, घर तरुल, पानी तरुलको माग बाढी भएको थियो । तर, मागअनुसार तरुल आएन । जति तरुल धनगढी भित्रिएको छ, व्यापारीले धमाधम बेचिरहेका छन् ।
धनगढीको क्याम्पस चोकको फलफूल तथा तरकारी बजारमा तरुल किन्नको भिड लाग्यो । बुद्द चोकको चादनी कटुवालले तरुल किन्न लाइन बस्नुपरेको बताइन् । उनी भन्छिन्, ‘‘माघे संक्रान्ति पो हो त, जति महँगो भए पनि संक्रान्ति मनाउनै पर्छ पो । बजारमा तरुल सकिएला कि भन्ने डरले हतार–हतार बजार जानुपरेको छ ।’’
तरुल किन्न आएका विभिन्न ग्राहकका अनुसार तरुल धनगढीमा गत वर्षको तुलनामा दोब्बर महँगो भएको छ । धनगढीमा मागभन्दा कम तरुल आएको हुनाले दोब्बर महँगिएको हो ।
व्यापारीका अनुसार तरुल गत वर्ष प्रतिकेजी ४० देखि १२० रुपैयाँसम्ममा किनबेच भएको थियो । तर, यो वर्ष भने प्रतिकेजी ८० देखि १८० रुपैयाँमा किनबेच भइरहेको छ ।
धनगढीका थोक व्यापारी दिनेश कडेलले यो वर्ष धनगढीबासीको मागअनुसार तरुल नआएकाले गत वर्षभन्दा महँगो भएको बताए । तरुलको भाउ व्यापारीले भन्दा पनि किसानबाट ल्याउँदा नै महँगो भएको उनको भनाइ छ ।
पहिलेका वर्षहरुमा भारतबाट धेरै तरुल भित्रिने गरेको थियो । तर, अहिले स्वदेशी तरुल नै बढी भित्रिएको छ ।