धनगढी, ०८ असोज। नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेकाले मनसुन लम्बिएको हो ।‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।
आजसम्मको विश्लेषण अनुसार, हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिम तर्फ सर्ने क्रममा २५ सेप्टेम्बरसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ ।
यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।