भ्रष्टाचारले थिलथिलो रेडक्रस, अर्बौं अपचलन

पछिल्लो १० वर्षमा वैदेशिक सहयोग १५ अर्ब ९५ करोड ६ लाख रुपैयाँ प्राप्त भएको पाइएको छ। जसमा १५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खर्च देखिएको छ । तर, रेडक्रसले गैरसरकारी संस्थाका रूपमा परिषद्बाट ७ करोड १५ लाख रकमको मात्रै स्वीकृति लिएको देखिएको छ ।
समितिले आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्मको लेखापरीक्षण प्रतिवेदनका आधारमा ६ विषयवस्तु अध्ययन गरेर रकम अपचलन भएको निचोड निकालेको हो । उसले वैदेशिक सहायता उपयोग तथा परिचालन, विगतका अनुगमन/छानबिन टोलीमार्फत तयार प्रतिवेदनहरूको सुझाव र दिएका सिफारिस कार्यान्वयन स्थिति, सम्पत्ति प्रयोग तथा व्यवस्थापन, संस्थागत सुशासन तथा खरिद व्यवस्था, लेखापरीक्षण प्रतिवेदन, प्रचलित ऐन, नियम कार्यान्वयन तथा परिपालनाको अवस्थामा अध्ययन गरेको थियो ।
रेडक्रसले खर्च गरिसकेको २ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ तत्कालीन उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्रप्रकाश मैनाली (सीपी मैनाली) को अध्यक्षस्तरीय निर्णयबाट २०७२ फागुन २८ गते अनुमोदन प्रक्रियामा मात्रै राखेको देखिएको छ । संस्थाले उपलब्ध गराएको जानकारीअनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त १० करोड ९० लाख रुपैयाँ उल्लेख गरी पेस भएको छ तर परिषद्को अभिलेखमा देखिएको छैन ।