काठमाडौं,२ फागुन । त्रिभुवन विश्वविद्यालयले यही आउदो १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तय गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आपत्ति जनाएपछि निर्वाचन अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा १० वर्षदेखि स्ववियुको नियमित निर्वाचन हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन। तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो।
लामो समय नेतृत्वविहिन बनेको नेविसंघको माउपार्टीले नेतृत्वमा मनोनयन गरेसँगै संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेपछि त्रिभुवन विश्वविद्यालय अर्को मिति तोक्ने तयारीमा जुटेको छ । विश्वविद्यालय खेलकुद तथा विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले विद्यार्थी संगठनहरुबीच तोकिएको मितिमा निर्वाचन गर्न सहमति नहुँदा एक महिना मिति सार्ने सोच रहेको बताए ।
नेविसंघले भने नयाँ रेक्टर नियुक्त नगरेसम्म निर्वाचन गर्न नहुने बताईरहेका छन् । उनीहरुले सहयाक रेक्टरले गर्ने निर्वाचन अमान्य भन्दै यसअघि नै बताएका हुन । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान रहेपनि अब त्यो अवस्था देखिदैन । त्यसैले पनि स्ववियु निर्वाचन सार्नुको विकल्प नरहेको हो ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आफूहरुसँग सल्लाह नगरीकन तोकिएको मितिमा चुनाव हुन नसक्ने बताउँदै विब्वविद्यालयले सबैभन्दा पहिले रेक्टरको नियुक्ति गरेर ढोका खोल्नुपर्ने धारणा राखे । उता अनेरास्ववियुका संयोजक ऐन महरले रेक्टर नियुक्तिको बखेडा झिकेर स्ववियु निर्वाचनलाई नेविसंघले अन्यौलतातर्फ धकेलेको आरोप लगाएका छन् । उनले स्ववियु निर्वाचनको निश्चिततामा जोड दिदै तत्काल निर्वाचन गर्न आग्रह गरेका छन् । त्रिविमा अहिले रिक्त रहेको रेक्टर पदमा डिन शिवलाल भुसाललाई कायममुकायम तोकिएको छ ।
त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो। पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए। तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ।
प्रत्येक दुई(दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन। फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन्।
प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धा्रित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो। त्रिविले विसं २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ।