काठमाडौं : एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले उपाधि उचालेको हो।
बंगलादेशको सहिद सुहरावर्दी इन्डोर स्टेडियममा भएको माल्दिभ्सविरुद्धको खेलको सुरुमा ५-० अंकले पछि परेको नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो। दोस्रो र तेस्रो सेटमा नेपालले एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो। दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले माल्दिभ्सलाई पाखा लगाउँदै नेपालले उपाधि उचालेको हो।
नेपाली महिला टिमले उचालेको यो उपाधि ऐतिहासिक हो।
नेपाली टोली लिग चरणमा नेपाल १२ अंकसहित समूह विजेता बन्दै फाइनलमा पुगेको थियो। लिग चरणमा ८ अंकसहित माल्दिभ्स समूह उपविजेता बन्दै फाइनलमा पुगेको थियो। लिग चरणमा नेपाल अपराजित टिम हो। लिग चरणको अन्तिम खेल अगावै नेपाल फाइनलमा पुगेको थियो।
लिग चरणको अन्तिम खेलमा पनि नेपालले माल्दिभ्सलाई २५-१४, २५-६, २५-१३ अंकले हराएको थियो। लिग चरणमा नेपालले अफगानिस्तान, किर्गिस्तान र आयोजक बंगलादेशलाई पनि ३-० सेटले नै हराएको थियो। नेपाली भलिबलले जितेको यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो।
तीन वर्षअघि माल्दिभ्समा आयोजना भएको तेस्रो सिनियर पुरुष सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपालको पुरुष टोलीले कांस्य पदक जितेको थियो। नेपाली भलिबलको ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा नेपाली पुरुष भलिबलले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक थियो।
नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) बाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको यो पहिलो पदक थियो।
सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपाली भलिबलले यसअघि एभीसी र फिभको प्रतियोगितामा पदक जित्न सकेको थिएन।
नेपाली भलिबलको ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा नेपाली पुरुष भलिबलले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक थियो।
यसअघि नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक कांस्य पदक जितेको छ। नेपाली महिला टोलीले नेपालमै भएको आठौं, श्रीलंकामा भएको १० औं र भारतमा भएको १२औं सागमा कांस्य पदक जितेको थियो। यद्यपि साग खेलकुदलाई एभीसी र फिभले मान्यता दिएको थिएन।
निकट भविष्यमा नेपालमै आयोजना हुने १३ औं सागको बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीमध्येबाट उत्कृष्ट १२ खेलाडी छनोट गरी नेपाली महिला भलिबल टोली बंगलादेश गएको थियो।
बंगलादेशबाट नेपाल फर्किएपछि सागका लागि १८ खेलाडी नै बन्द प्रशिक्षणमा रहेर प्रशिक्षण गर्नेछन्।