खेलकुद
विश्वकप उपाधि भिडन्त : भारतको ह्याट्रिक जित कि अष्ट्रेलियाको डबल ह्याट्रिक ?
सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धामा आज पाँच पटकको च्याम्पियन अष्ट्रेलिया र २ पटकको च्याम्पियन भारत भिड्दै छन् ।भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने प्रतिस्पर्धामा दुवै टिमको लक्ष्य उपाधि जित्नु नै रहेको छ । आज सर्वाधिक विजेता अष्ट्रेलिया ६ पटक विश्वकप जितेर उपाधिको ‘डबल ह्याट्रिक’ गर्न चाहन्छ भने भारत आफ्नो उपाधि संख्यालाई तिन पुर्याउँदै ‘ह्याट्रिक’ गर्न चाहन्छ ।
आठ पटक विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलियाले पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ भने भारतको रेकर्ड पनि उत्कृष्ट छ । भारत हालसम्म ३ पटक फाइनलमा पुग्दै दुई पटक उपाधि जित्न सफल भएको छ ।भारतले ३ पटक विश्वकप फाइनलमा पुग्दा हारेको एक खेल भनेको अहिलेको प्रतिस्पर्धी अष्ट्रेलियाविरुद्ध नै हो । सन् २००३ को विश्वकप क्रिकेट फाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो ।
हालसम्म अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले सन् १९८३ र २०११ मा उपाधिमाथि कब्जा जमाएको छ ।
हेड टु हेड मा अष्ट्रेलिया बलियो
पाँच पटक विश्वकप क्रिकेट उपाधि जितेको अष्ट्रेलिया निःसन्देह बलियो टिम हो । भारत विरुद्ध पनि अष्ट्रेलियाको रेकर्ड निकै राम्रो देखिन्छ ।
हालसम्म यी दुई टोलीबीच १५० एक दिवसीय खेल हुँदा ८३ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने ५७ मा भारत विजयी भएको छ । यो पटकको विश्वकपको समूह चरणको खेलमा भने भारत विजयी भएको छ ।
समूह चरणमा अस्ट्रेलियालाई भारतले ४९ ओभर तीन बलमा १९९ रनमा अलआउट गर्दै खेल ६ विकेटले जितेको थियो । यो विश्वकपमा भारत मात्र हालसम्म अपराजित टिम हो ।आज हुने फाइनल प्रतिस्पर्धामा विश्वकप क्रिकेटको च्याम्पियन हुँदा अनुभव बटुलिसकेका खेलाडीहरू छन् ।अष्ट्रेलियाले सन २०१५ मा विश्वकपको उपाधि जित्दाका डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, जोश हेजलवूड, मिचेल स्टार्क, मिचेल मार्स र प्याट कमिन्स गरी सात जना खेलाडी छन् भने भारतले २०११ मा विश्वकप जित्दाका विराट कोहोली र रविचन्द्र अस्विन गरी दुई खेलाडी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्