धनगढी । कैलालीको हुलाकी राजमार्ग अन्तर्गत ६८ किलोमिटरको काम सम्पन्न भएको छ।
जिल्लामा कुल ९५ दशमलव ७ किलोमिटर सडकमा सात वटा प्याकेज बनाएर स्तरोन्नतिको काम थालिएकोमा ६८ किलोमिटर स्तरोन्नतिको काम सकिएको हो।
धनगढी देखी सत्ती खण्डको दुई वटा प्याकेजमा कालोपत्रेको काम पूरा भइसकेको र तेस्रो प्याकेजमा पनि चालु आर्थिक वर्षभित्रै काम सकिने हुलाकी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर गणेशबहादुर बुढाले बताए। तेस्रो प्याकेजको कैलारी गाउँपालिकास्थित हसुलिया क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ।
धनगढीको क्याम्पस रोडदेखि कैलारीको सुर्मिनालासम्म कालोपत्रे गर्ने काम सकिएको छ। निर्माण कम्पनी स्वछन्द जोशी जेभीले यस खण्डमा ठेक्का पाएको थियो।
भजनीको ठेकीपुर पुलदेखि चौथो प्याकेजमा भने अहिलेसम्म कुनै पनि काम सुरु भएको छैन। अर्को वर्ष मात्रै यो खण्डमा काम हुने सम्भावना रहेको जनाइएको छ। ठेकीपुरदेखिको खण्डमा काम गर्नका लागि कालिका–जोशी जेभीले ठेक्का पाएको छ। पूर्वपश्चिम जोड्ने सत्ती–भजनी–धनगढी हुलाकी राजमार्ग ६६ किलोमिटर रहेकोमा हालसम्म ५० दशमलव पाँच किलोमिटरमा काम पूरा भएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ। सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेन हुने गरी कालोपत्रे गर्ने कार्य भइरहेको छ।
यसै गरी उत्तर–दक्षिण जोड्ने लम्की–टीकापुर–खक्रौला २९.७ किलोमिटर हुलाकी राजमार्गमा आधाभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म १७.५ किलोमिटरमा कालोपत्रेको काम भइसकेको छ । अन्तिम प्याकेजमा पनि बेस, सबबेस निर्माणको काम भइरहेको इन्जिनियर बुढाले बताए। लम्की–टीकापुर–खक्रौला जोड्ने राजमार्गको पहिलो खण्डमा स्तरोन्नतिको काम सकिएको छ । दोस्रो खण्डमा काम जारी रहेको जनाइएको छ। आठ किलोमिटर रहेको पहिलो प्याकेजको ठेक्का ४० करोड १९ लाख रुपियाँमा कालिका–कुमार जेभीले पाएको थियो। टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजमा बेस, सबबेस निर्माणको काम भइरहेको छ। ३३ करोड २० लाख रुपियाँ लागतमा रायमाझी–गल्वा जेभीले तेस्रो खण्डको ठेक्का पाएको छ।
चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट ३३ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो। २१ करोड रुपियाँ गत आवको दायित्व भुक्तानीमै सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ। सङ्घीय सरकारसँग थप माग गर्दा पठाइएको २२ करोड रुपियाँ पनि खर्च भइसकेको आयोजना कार्यालयले जानकारी दिएको छ। बजेट सकिए पनि निर्माण कम्पनीले काम जारी राखेकोले चालु आर्थिक वर्षभित्रै थप ३० करोड रुपियाँ बजेट चाहिने जनाइएको छ।
धेरै जसो निर्माण कम्पनीको समयावधि सकिएकाले म्याद थप गर्ने गृहकार्य भइरहेको इन्जिनियर बुढाले बताए। आगामी आर्थिक वर्षभित्र कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुग्ने उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्