सम्पादकीय
हाम्रो‘स्मार्ट यात्रा’
फूलवारी खबर साप्ताहिक पत्रिका एउटा अखबार मात्र होइन, यो नेपाली पत्रकारिताको प्रतिष्ठित पाठशाला हो । सुदूरपश्चिम प्रदेशमा छबी भएको समाचारपत्रका रूपमा झन्डै छ वर्षदेखि अविरल प्रकाशित फूलवारी खबर साप्ताहिक पत्रिका कोरोना भाइरसबाट अछुतो रहन सकेन । जसले गर्दा निरन्तर प्रकाशनमा रोकावट आयो ।समाज , लामो समयको लाकडाउनपछी अलि उभिन सक्ने अवस्थामा पुगेको छ ।
२०७३ चैत्र १२ मा फूलवारी खबर साप्ताहिक पत्रिका प्रकाशनको प्रारम्भ कैलालीमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा एउटा क्रान्ति नै थियो । झन्डै ६ वर्ष लामो अविचलित यात्रा आफैँमा अभूतपूर्व र गौरवमय छ । नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको फूलवारी खबर साप्ताहिक पत्रिका एउटा जीवन्त प्रतिनिधि हो । यसले इतिहासका सबैखाले उकाली–ओराली भोगेको छ भने हरेक राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका थुप्रै आरोह–अवरोहको साक्षी बनेको छ ।
विरासत र इतिहासले हामी समृद्ध छौँ तर अहिलेको डिजिटल युगको प्रतिस्पर्धात्मक बजारमा आफूलाई प्रभावकारी रूपमा उभ्याउन हामीले हाम्रो सोच, शैली र गति बदल्नैपर्छ । संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै परम्परागत ढर्रामा चल्दै आएको फूलवारी खबर साप्ताहिक पत्रिकालाई ग्राहकको आवश्यकता अनुसार हामीले ‘डिजिटल सिफ्ट’ पनि गर्यौं । त्यसका लागि हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’तर्फ उन्मुख भइसकेको छ । वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट फूलवारी खबर ’को लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तनको अभियान सुरु भइसकेको छ ।
सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमको मात्र होइन, पत्रकारिताको चित्र र चरित्र दुवै बदलिएको छ । दुनियाँ डिजिटल भइसकेको छ । अबको दुनियाँमा बलवान् हामी पत्रकार वा पत्रिका होइन प्रविधि र पाठक हुन् । प्रविधिको व्यापक पहुँचसँगै पाठकसमक्ष रोजाइका अनगिन्ती विकल्प छन् र उनीहरूका चाहना र आवश्यकता फेरिएका छन् । सामाजिक सञ्जालको आक्रामक विकास र विस्तार मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो । आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित यसका सम्पादकीय उत्पादनहरूको गुणस्तर अभिवृद्धि गरी फूलवारी खबर साप्ताहिक पत्रिकालाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौँ ।
हरेक बिहान तपाईंले आफ्नै घरआँगनमा फूलवारी खबर साप्ताहिक पत्रिकालाई सहज र सुलभ रूपमा प्राप्त गर्ने प्रबन्ध मिलाउन वितरण तथा अन्य व्यवस्थापकीय पक्षमा सुधार थालेका छौँ । फूलवारी खबर साप्ताहिक पत्रिकालाई सुदूरपश्चिमको परम्परागत स्वरूप परिवर्तन गरेर नयाँ डिजाइन तथा लेआउटको सुरुवात गरेका छौँ । नयाँ प्रविधिअनुसार प्रस्तुत गरिएको स्मार्ट डिजाइन एवं लेआउटको आदरणीय पाठकबाट सकारात्मक प्रतिक्रिया पाउने आसा गरेका छौँ । अब हाम्रो ध्यान गुणस्तरीय सामग्रीको प्रभावकारी प्रस्तुतितिर केन्द्रित भएको छ ।
प्रविधिको अभूतपूर्व विकास तथा विस्तारसँगै सामाजिक सञ्जालको आक्रामक उपस्थिति मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो । १ हप्ता कुरेर पाठकले किन फूलवारी खबर साप्ताहिक पत्रिकालाई पढ्नुपर्ने रु यसको जवाफ अब हामीले हाम्रो उत्पादनमा आमूल सुधार गरेर दिनैपर्छ । फूलवारी खबर साप्ताहिक पत्रिका र फूलवारी खबर डट कम दुवैको न्युज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ । न्युज पोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामि माझ नै छ । सामाजिक सञ्जालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामीले गरिरहेका छौँ ।
६ वर्ष लामो अविरल यात्रामा हामीलाई निरन्तर माया र साथ दिनुहुने सबै सम्मानित पाठक, लेखक, विज्ञापनदाता र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । हामीलाई अझ व्यावसायिक तथा जिम्मेवार हुनका लागि निरन्तर मार्गनिर्देशन तथा अभिभावकत्व प्रदान गर्ने सम्पूर्ण अग्रज प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।
वर्तमान डिजिटल युगमा हतारको तथ्यहिन समाचार प्रति हाम्रो सदैव खबरदारी रहने छ । खोज ,अनुसन्धान सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उत्रनुपर्ने चुनौतीलाई सामना गर्दै अघि बढ्न नयाँ योजनासहित प्रस्तुत हुँदैछौँ । सबै पाठकले सहज रूपमा पढ्न पाउने र सबै नेपालीको ढुकढुकी बोल्ने एउटा प्रिय, विश्वसनीय एवं जिम्मेवार सञ्चार संस्थाका रूपमा अझ परिमार्जित हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
तपाइको प्रतिक्रिया दिनुहोस्