राजनीति
०८४ का लागि भागबन्डा गरेर बाजुरामा एमाले माओवादी तालमेल
धनगढी । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् । दुवै दलले ०८४ को स्थानीय निर्वाचनका लागि समेत पद बाँडफाँटको समझदारी गर्दै अहिलेको चुनावमा तालमेल गरेका हुन् । चुनावी तालमेलअनुसार उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउँदै छ । माओवादीबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । उनी एमालेकै उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न छिन् ।एमालेसँग चुनावी तालमेल गरिएको सवालमा माओवादी भने दुई समूहमा विभाजित छ । पार्टीको जिल्ला कमिटी तालमेलको विपक्षमा छ । ‘०८४ को निर्वाचनलाई लक्ष्य गरी एमालेसँग तालमेल गरेका हौं,’ माओवादीको स्वामीकार्तिक गाउँ कमिटीका अध्यक्ष रन्दिप बुढाले भने ‘०८४ को निर्वाचनमा एमाले र हामीबीच पद बाँडफाँट गर्ने सल्लाह छ ।’ माओवादीले सहयोग गर्ने भएपछि एमालेको पार्टी पंक्ति उत्साहित छ । एमाले स्वामीकार्तिक गाउँ कमिटी अध्यक्ष नवराज कट्टेलले भने, ‘०८४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने समझदारी गरेका छौं ।’स्वामीकार्तिकमा कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् । एमाले उम्मेदवार बुढा ०७९ मा पनि उपाध्यक्षको उम्मेदवार थिइन् । स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्