समाचार
धनगढीमा २२ गतेदेखि सुदूरपश्चिम महोत्सव सुरु हुने,तयारी तीव्र
कैलाली । आगामी मङ्सिर २२ गतेदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव लाग्ने हुने भएको छ । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जानकारी गराइएको हो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले महोत्सवको करिब ७० प्रतिशत बढि तयारी भइसकेको जानकारी दिएका छन् ।
उनले १८ औँ संस्करणको महोत्सव अझै विशेष र भव्य हुने बताए । मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने महोत्सवमा प्रदेशमै उद्योगी व्यवसायीहरूलाई प्राथमिकता दिने अध्यक्ष कुवरले जानकारी दिए। महोत्सवमा प्रदेश बाहिरका उद्योगी व्यवसायीहरूलाई पनि आमन्त्रण गरिएको र उनीहरुको पनि व्यवसाय प्रवर्द्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने उनले बताए। ३ करोडको लगानीमा १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको । ५ सय स्टल रहने महोत्सवमा करिब ९५ प्रतिशत स्टल बुक भइसकेका छन् र ५ लाखले अवलोकन लक्ष्य रहेको अध्यक्ष कुवरले बताए ।महोत्सव सफल बनाउन मूल आयोजक समितिसहित २९ उपसमिति बनाइएको छ। विद्यार्थीलाई ५० रुपैयाँ अन्यलाई १०० टिकट तोकेको आयोजकले टिकबाट केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ ।
उद्योग वाणिज्य सङ्घ कैलालीका महासचिव ओम बिष्टले महोत्सवको तयारी तीव्र भइरहेको भन्दै यस पटक पनि महोत्सवमा शालीन आन्दोलन जारी रहेको बताए । २१ बुँदे माग राख्दै २१ किलोका माला लगाउँदै आएको उद्योग वाणिज्य सङ्घले १७ वर्षसम्म ५ माग पुरा भइसकेको र ६ माग पुरा हुने क्रममा रहेको बताएको छ । अझै पनि ११ माग पुरा नभएको भन्दै ११ किलोको माला सरकार प्रमुखलाई लगाएर ११ बुँदे माग राख्ने तयारी गरिएको महासचिव बिष्टले जानकारी दिए।
अहिलेसम्म उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने बताइए पनि अझै निश्चित भने भएको छैन । चिन भ्रमणबाट चाँडै फर्किन प्रधानमन्त्री आउने नभए अन्य व्यक्तित्वलाई प्रमुख अतिथि बनाउने विषयमा छलफल भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्