हामि संग जोडिनुहोस

समाचार

कैलालीमा युवक अपहरण गरेको आरोपमा तीन जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१०
  • सुन्नुहोस् 
558  
Banner

धनगढी । कैलालीमा दुई जना युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

उनकाअनुसार उनीहरूलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा डेरा लिएर बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।कुटपिटमा पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय र कबेदारस्यु गाउँपालिका–६ बस्ने १७ वर्षीय युवक रहेको एसपी विष्टले बताए । उनीहरू दुवै जनालाई आइतबार साँझ धनगढीस्थित डेराबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको पाइएको उनले बताए ।

प्रहरीका अनुसार कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले धामी र खड्कालाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिन्छ । यसअघि उनीहरूको कोठामा प्रवेश गरेर लुगा धुने काममा लगाउने तथा जबरजस्ती खाना चोरेर लैजाने गरेका थिए । उनीहरूले डेराबाट कपडा र नगद समेत चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही समूहले एक हप्ता अघि कैलालीको गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा लगि कुटपिट गरेका खुलेको छ ।विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरी शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए ।

प्रहरीकाअनुसार खड्काको समूहले आफूहरूलाई ‘डन’ भएको बताउँदै युवालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको छ ।कुटपिट गरेको भिडियो मोबाइलमा कैद गरेर अन्य व्यक्तिलाई समेत देखाएर तर्साउने गरेको पनि पाइएको प्रहरीको भनाइ छ । उनीहरू तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्