काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, बिचौलियाहरूको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उनले आफूहरू जाली फटाहासँग मिल्दा केही बिग्रिएको आत्मालोचना गर्दै अब सच्चिन चाहेको बताए ।
प्रचण्डले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरू नरहेको बताए । उनले सरकारलाई तत्काल हटाउनका लागि आफूहरूले खबरदारी सभा नगरेको पनि दोहोर्याए । सडकबाट सरकार फेर्ने भन्ने कांग्रेस—एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रम मात्रै हुने पनि बताए । ढुक्कसँग सरकार चलाए हुने प्रचण्डको भनाई थियो । सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरूले सरकारलाई खबरदारी गरेको जिकिर गर्दै प्रचण्डले त्यसमा तलमाथि भए सैह्य नहुने बताए ।
उनले भने,‘अहिले सरकार हटाउनका लागि यो खबरदारी सभा गरिएको होइन । हामीलाई राम्रोसँग थाहा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामी के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा हामीलाई गहिरोगरी बोध छ । बरु हामीले यो खबरदारी सभाको घोषणा गर्ने बित्तिकै सत्ता पक्षमा जुन आतङ्क देखा पर्यो । सरकार आजै ढल्छ, भोली ढल्छ हामीले भनेका छैनौँ । उहाँहरूले भन्नुभएको छ । खबरदार तपाईँहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानु होला । अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नजानु होला । हामी यो खबरदारी तपाईँहरूलाई भन्न चाहन्छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधान माओवादी केन्द्रको मुख्य त्याग र बलिदानको जगमा, उसको सङ्घर्षको जगमा बनेको छ । यसमा कहीँ कतैबाट आघात नपुगोस् भन्ने भन्ने कुरामा हामी सबभन्दा बढी गम्भीर र जिम्मेवार छौं । त्यसकारण हामीले यो खबरदारी सभा नगर्ने हो, सरकारको बेथिति र भ्रष्टाचारी गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरूले टाउको उठाउने खतरा पैदा हुन्छ । त्यसकारण हामीले संविधानको रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति यो देशका जनताले जे जति उपलब्धि संविधानसभाबाट पाएका छन् । त्यसको रक्षा र अझ त्यसको परिमार्जन गर्नका लागि हामीले आन्दोलनमा जानका लागि जरुरी ठानेका छौं । तपाईँहरूले यो भ्रम कि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने बुझ्नुभएको छ भने तपाईँहरू भ्रममा हुनुहुन्छ । त्यो भ्रम नपाल्नु । बरु माओवादीलाई के चिन्ता भएको छ भने, हामीले के समीक्षा गरेका छौ भने तपाईँहरूजस्ता पार्टीहरू जो यो देशका दलाल, पुँजीपति र बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिको रूपमा रहनुभएको छ । हामीले केही समय तपाईँहरूसँग सहकार्य गरेर गल्ती गर्यौँ भन्ने परेको छ हामीलाई । हामीले तपाईँहरूसँग समीकरण गरेर गल्ती गर्यौ । तपाईँहरूको रोग हामीलाई पनि सर्यो भन्ने चिन्ता छ । हामी गम्भीर आत्मासमिक्षामा छौं । त्यसकारण तपाईँहरू हामीसँग ढुक्क भए हुन्छ–अब तपाईँहरूसँग समीकरण गरांै, हामीलाई मन्त्री बनाईदिनुस, प्रधानमन्त्री बनाईदिनुस भनेर आउने छैनौँ । मैले त बरु प्रतिनिधिसभामा पनि र अहिले जनताको बीचमा पनि भनिराखेको छु–तपाईँहरूलाई धन्यवाद । ु
तपाइको प्रतिक्रिया दिनुहोस्