राष्ट्रिय
दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह प्रयोगविहीन
धनगढी । दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह अझै प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँमा निर्माण गरिएको आधुनिक सभागृह निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा प्रयोगमा आउन नसकेको हो ।सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँ लगानीमा ठुला सम्मेलन, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सभा हल बनाइएको हो । सभागृह प्रयोगमा नआएपछि सरकारी निकायले यस्ता कार्यक्रम मोटो रकम खर्चेर पार्टी प्यालेस र निजी होटेलमा आयोजना गर्दै आएका छन् । यसै गरी सभागृह प्रयोगविहीन हुँदा कतिपय संरचना टुटफुट भइरहेका छन् । सभा हलको सिसा फुट्न थालेको छ भने पर्खाल पनि यत्रतत्र भत्किँदै छ ।सभागृह निर्माणको समयसीमा सकिए पनि ‘साउन्ड सिस्टम’ जडान नभएका कारण धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण हुन नसकेको वडाध्यक्ष जुगराम चौधरीले बताए । उनले साउन्ड सिस्टममै एक करोड रुपियाँ खर्च हुने जनाउँदै अझै तीनरचार करोडको काम निर्माण कम्पनीले पूरा गर्न बाँकी रहेको उल्लेख गरे ।एकचोटि निर्माण कम्पनीले हस्तान्तरण गर्ने भनेको थियो तर साउन्ड सिस्टम जडानको काम बाँकी रहेकाले हस्तान्तरण भएन,” वडाध्यक्ष चौधरीले भने, “अहिलेसम्म साउन्ड सिस्टम बनेको छैन । निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई सभागृह हस्तान्तरण पनि गर्न सकेको छैन ।”सभागृहमा सात सय क्षमताको मुख्य सभा हल, दुई सय क्षमताको कार्यक्रम हल र एक सय सवारीसाधन पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । बिकेओआई एमके जेभीले ठेक्का पाएर २०७५ सालबाट धनगढी सभागृह निर्माण सुरु गरेको थियो । २०७९ असारमा निर्माण पूरा भए पनि अझैसम्म हस्तान्तरण भएको छैन । धनगढी उपमहानगरपालिकाले दिएको करिब एक बिघा जग्गामा बनेको सो सभा हललाई धनगढी उपमहानगरपालिकाले नै सञ्चालन गर्ने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्