स्वास्थ्य
छालामा आउने दादबाट कसरी बाच्ने ?
छालामा खस्रो, फुस्रो र चिलाउने ‘रिङ’ जस्तो आकार देखा पर्यो भने त्यसलाई बोलीचालीको भाषामा दाद आएको भन्ने गरिन्छ । दादलाई चिकित्सकीय भाषामा फंगल संक्रमण भनिन्छ । यसले छालामा मात्र नभई नङ र कपालमा पनि देखा पर्न सक्छ ।
दाद कुन–कुन ठाउँमा देखा पर्छ ?
गर्मी महिना सुरु भएपछि बढ्दो तापक्रम र आर्द्रता बढेसँगै दादको समस्या उत्पन्न हुने गर्छ । फंगल संक्रमण शरीरको सबै भागमा देखिन सक्छ । तर विशेषगरी छालाहरु एकापसमा जोडिन क्षेत्रमा दाद देखिन्छ ।
छालाको काप जस्तै, काखी, काँच, घाँटी, महिलाको छातीको मुनिको भागमा आउँछ । किनकि त्यस ठाउँमा पसिनाले भिजेको हुन्छ । यस्तोमा सरसफाइमा ध्यान दिएन भने त्यस्ता काछमा आउन सक्छ ।
त्यस्तै, हातको तुलनामा खुट्टाको नङमा बढी दाद देखिन्छ । किनभने हात पटक(पटक सफा हुन्छ । तर खुट्टा तुलनात्मक रुपमा कम पखालिन्छ । जो बढी जुत्ता मोजा लगाएर बस्छन् उनीहरुमा बढी देखिन्छ । दिनभर मोजामा गुम्सिएर बस्दा पनि पसिनाले भिजेर ढुसी पर्न सक्छ ।
माटोमा काम गर्ने, पार्लरमा मेनिक्योर र पेडिक्योर गराएको सामान सफा नगरी अर्कोमा प्रयोग गर्दा दाद हातको नङमा सर्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोग लागेकाहरूमा पनि दाद आउने सम्भावना रहन्छ ।
फङ्गलका प्रकार
फङ्गल एक मात्र नभई धेरै थरीका हुन्छन् । टाउकोमा आउने दादलाई ‘टिनिया क्यापिटिस, जीउमा आउने दादलाई ‘टिनिया कर्पोरिस’, काछमा आउने दादलाई ‘टिनिया क्रिउरिस’, खुट्टामा आउने दादलाई ‘टिनिया पेडिस’र नङमा आउने दादलाई ‘ओनाइकोमाइकोसिस’ भनिन्छ ।
लक्षण
हेर्दा छालामा गोलो तथा फुस्रो दाग देखिन्छ । दागको बीच भागमा खाली र छेउको भागमा गाढा हुन्छ । शरीरको काँपकाँपमा र अन्य भागमा गोलो ‘रिङ’ जस्तै आकारको घाउ देखा शरीर बढ्दै जान्छ । काखी र काछ वरपर यो देखिन्छ । धेरै चिलाउँछ ।
टाउकोको कपालमा संक्रमण भएमा कपाल आफैं झर्ने तथा कपालमा चाया बढ्दै गई घाउ हुने र चिलाउने हुन्छ ।नङ छालासँगै जोडिएर विकास हुन्छ । फङ्गस संक्रमण भएमा नङ र छाला छुट्टिन्छ । नङको रङ पहेंलो हुँदै जाने र फुस्रो फोहोर जस्तो देखिन्छ ।
पहिचान
यो समस्या हेर्दा पनि अनुमान लगाउन सकिन्छ । तर धेरैजसो मानिसहरू ओभर द काउन्टर औषधि खाएर आउँदा दादको आकार नै परिवर्तन भएको हुनसक्ने हुँदा आँखाले त्यत्तिकै हेरेर छुट्याउन कठिन हुन्छ । यस्तोमा दादको भाग थोरै खुर्किएर माइक्रो स्कोपको सहायताले हेरिन्छ ।
उपचार
यसको उपचारमा एन्टीफङ्गल औषधि खाने, एन्टीएच,लगाउने मलम, स्याम्पु र बढी वास र पाउडर प्रयोग हुन्छ । जुन समस्या अनुसार सीमित अवधिका लागि दिइन्छ ।यससँगै नुहाउने र सरसफाइमा ध्यान दिनुपर्छ । तर अलिकति लक्षण कम हुने बित्तिकै चिकित्सकले तोकेको जति समय औषधि लिएन वा बीचमै छोडेमा पुनः दोहोरिन्छ ।
बेवास्ता गरेमा जटिलता बढ्छ
फंगल संक्रमणको उपचार भएन भने त्यसले छालामा क्षति गर्ने, घाउ पार्ने, घाउमा अन्य हानिकारक ब्याक्टेरियाले समेत आक्रमण गराउँछ ।
कसरी बच्ने ?
– दिनको एक पटक नुहाउने
– अत्यधिक पसिना आउने भागमा बिहान र बेलुकी दुई पटक सफा गर्ने
– पसिनाले कपडा भिजेमा परिवर्तन गर्ने
– भित्री वस्त्र दैनिक परिवर्तन गर्ने
– माटोमा काम गर्दा पञ्जा लगाउने
– मेनिक्योर र पेडिक्योर गर्दा त्यसमा प्रयोग हुने सामान सफा भए मात्र प्रयोग गर्ने
– संक्रमित व्यक्तिको कपडा, जुत्ता, काइँयो र रुमाल प्रयोग नगर्ने
– पसिना आउने ठाउँमा एन्टीफंगल पाउडर लगाउने ।
तपाइको प्रतिक्रिया दिनुहोस्