हामि संग जोडिनुहोस

समाचार

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायात अबरुद्ध

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२४
  • सुन्नुहोस् 
621  
Banner


धनगढी। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका सडक यातायात अबरुद्ध भएको छ ।सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् ।सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले दार्चुलाको मालिकार्जुन नगरपालिका(२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताए ।

डिआईजी केसीले ठूलो पहिरो नखसेकोले यथाशिघ्र पहिरो हटाएर सडक यातायात सुचारु गर्न सकिने बताए ।

डडेल्धुराको रडुवामा पहिरो खसेका कारण डडेल्धुरा डोटी सडक केही समय अवरुद्ध भएपनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।

पहाडी जिल्लाका ग्रामिण सडकहरु समेत बाढी र पहिरोका कारण अबरुद्ध भएका छन् ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

बझाङको थलारा गाउँपालिकाको झ्याँबगरमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

डिआईजी केसीले केही ठाँउमा पहिरोको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएपनि हालसम्म मानवीय तथा भौतिक क्षति नभएको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्